धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड १९ अस्पतालको बाहिर संक्रमितका आफन्तका लागि कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको छ ।

धरानका मेयर तिलक राईको पहलमा कोभिड १९ अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नको लागी सहज होस् भन्ने उद्देश्यले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घरसहितको शौचालय र बाथरुम निर्माण गरिदिएका हुन् ।

मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले अहिले कोभिडको बेलामा भिडभाड गर्ने अवस्था नभएको जानकारी दिदै कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको जानकारी दिनुभयो । ‘मेयर साबसँग कुरा भईरहेको छ, कहिले हस्तान्तरण गर्ने भनेर ? दाताहरुको नाम शिलालेखमा लेख्ने काम भईरहेको छ, अब चाडै अस्पताललाई हस्तान्तरण गर्छौ, अहिले कोभिडको कारण औपचारिक कार्यक्रम गर्न मिल्दैन, अब मेयर साबको निर्देशन अनुसार सानो अनौपचारिक कार्यक्रम गरेर हस्तान्तरण गर्छौ,’ अध्यक्ष अग्रवालले भन्नुभयो ।
उहाँका अनुसार १८ फिट चौडाई र ८० फिट लम्बाई भएको कुरुवा घर निर्माण भएको छ भने १८ फिट चौडाई र १२ फिटा लम्बाई भएको शौचालयसहितको बाथरुम निर्माण गरिएको छ । उक्त कुरुवा घर, शौचालय र बाथरुम १८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । ‘संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछी मेयर साबको पहलमा ब्यवस्थित कुरुवा घरसहित शौचालय, बाथरुम हामिले निर्माण गरि दिएका हौं,’ उहाँले भन्नुभयो ।

मेयर राईले कुरुवा घरसहित शौचालय, बाथरुम निर्माण भईसकेको जानकारी दिदै अब हप्ता, दश दिनभित्रमा हस्तान्तरण गरिने जानकारी दिनुभयो । बिरामीका कुरुवाहरुले अस्पताल बाहिर चौरीमा बिजोग अवस्थामा बस्नु परेको गुनासो गरेको थियो । मसँग अस्पताल प्रशासनले पनि कुरुवा घर विषयमा आग्रह गरेको कारण निर्माणको पहल आफुले गरेको मेयर राईले बताउनुभयो । ‘दुई हप्ता अघिदेखि नै कुरुवा घर सञ्चालनमा आएको छ, त्यहाँ कुरुवाहरु बस्न पनि थालेका छन्, शौचालय र बाथरुम चाँहि चार दिन अघिमात्र सञ्चालनमा आएको हो,’ मेयर राई भन्नुभयो । मेयर राईले सम्पूर्ण भौतिक संरचनाको पाटो पुरा भएको बताउँदै त्यहाँ आवश्यक पर्ने सामग्रीहरु पनि अस्पताललाई हस्तान्तरण गरेपछि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

कोभिड अस्पतालको बाहिर चौरीमा विरामीका आफन्तहरु बस्दै आएका थिए । वास्तवमा भन्ने हो भने एशिया कै प्रतिष्ठीत अस्पताल वीपी प्रतिष्ठानले नै कुरुवा घरको व्यवस्थापन गर्नुपर्ने हो । तर, किन गर्न सकेन ? केही दिन अघिदेखि परेको प्रतिकुल वर्षातका कारण विरामीका आफन्तहरु अहिले निर्माण सम्पन्न भएको कुरुवा घरमा सरेर बसेका छन् ।

विरामीका आफन्त उर्मिला चौधरीले आफ्नो घर उदयपुरको फत्तेपुर रहेको बताउँदै भनिन्, ‘मेरो विरामी कोभिड अस्पतालमा विगत दुई हप्तादेखि भित्र छ, हामि बाहिर चौरीमा पालभित्र बसेका थियौं, शौच गर्न पनि समस्या थियो, खुल्ला रुपमा शौच गर्न बाध्य थियौं, अहिले शौचालय बनेको छ, सहज भएको छ ।’ यस्तै, गुनासो प्रदेश नं. २ बाट आएकी अनारदेवीले पनि गरिन् । अनारदेवीले आफ्नो विरामी अस्पताल भित्र रहेको धेरै दिन भएको बताउँदै बाहिर पाल मुनी रात काट्नु परेको सुनाईन् । उहाँले भन्नुभयो, ‘वर्षातको कारण अहिले हामि निर्माण भएको कुरुवा घरमा बस्न पाका छौं, कपडा धुन, नुहाउन पनि सहज भएको छ, स्वर्गमा बस्न पाए जस्तो अुनुभुति भएको छ ।’

कुरुवा घरमा कुरुवाहरुले नै पैसा बटुले ?

कोभिड १९ अस्पताल बाहिर सुविधा सम्पन्न शौचालयसहितको कुरुवा घर त निर्माण भयो । कुरुवाहरुलाई समस्या के छ त ? भने शौचालयमा आवश्यक पर्ने सामग्री । धरान १० का रेवत केबुकहाङ लिम्बु र रोशन लिम्बु हप्ता दिन अघिदेखि विरामी भाउजूको पर्खाईमा रहेका छन् । उनीहरुको पहलमा कुरुवाहरुले अहिले निर्माण भएको कुरुवा घरको शौचालयमा प्रति व्यक्ति ५० रुपैयाँको दरले पैसा उठाएर डिटोल साबुन, सरफ, बाल्टिन, जग र ब्रस लगायतका आवश्यक पर्ने सामग्री खरिद गरेर राखेका छन् । यतिमात्र हैन । कुरुवाहरुले (हिजो) शुक्रबार कुरुवा घर वरिपरिको फोहोर मैला पनि सफाई गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x