धरान । धरानका शारीरिक रुपमा अशक्त व्यक्तिलाई ह्वीलचियरसहित आवश्यक भौतिक सामग्री वितरण गरिएको छ । धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार शारिरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई ह्वीलचियर, वैशाखे, ट्वाईलेट ह्वीलचियर, एल स्टीक, हियरिङ एड आज वितरण गरेको हो । उक्त सामग्री धरान उपमहानगरपालिकाको सभाहलमा मेयर तिलक राईले वितरण गर्नु भएको थियो ।

मेयर राईले अपाङ्गता रोकथाम तथा पूर्णस्थापना कार्यक्रम अन्तर्गत प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाण्डेसनको संयूक्त साझेदारीमा सञ्चालनमा ल्याइएको बताउनुभयो । मेयर राईका अनुसार धरान भरि रहेका शारिरिक रुपमा अशक्त व्यक्तिहरुलाई, उनिहरुकै माग अनुसार भौतिक सामग्री वितरण गरिएको हो । मेयर राईले भन्नुभयो, ‘यदि तपाईको छिमेकमा तपाईकै आफन्त, तपाई जस्तो कोही छुटेको छ भने पनि उहाँहरुलाई पनि सम्पर्कमा ल्याउनुहोस् । यो कार्यक्रम तपाईहरुकै लागि ल्याइएको हो । यो तपाईहरुको अधिकार हो । अधिकार पाउनबाट कोही पनि बञ्चित नहुनुहोस् ।’ अपाङ्ग भएर विरामी भएकालाई उपचारका लागि वडा वडामै सामाजिक विकास महाशाखासँग समन्वय गरेर सहजकर्ता तथा प्राविधिक डाक्टरहरुलाई खटाईने मेयर राईले बताउनुभयो । ‘ह्वीलचियरको साईजहरु मिलेन भने त्यसलाई फेरी साईज मिलाएर व्यवस्थापन गरिदिने छौं,’ मेयर राईले भन्नुभयो । शारिरिक रुपमा अशक्त भएका व्यक्तिहरुका लागि थुप्रै कार्यक्रमहरु गर्न बाँकी रहेको मेयर राईले जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण भने जति कार्यक्रम खुलेर गर्न नसकेको मेयर राईको भनाई छ । धरानमा संक्रमणदर तिब्र रुपमा बढिरहेको छ । दुई, चार दिनपछि फेरी पनि लकडाउन गर्नुपर्ने स्थिति बन्दै गएको मेयर राईले बताउनुभयो । ‘शारिरिक अपाङ्गता भएकाको लागि भ्याक्सिन पनि आउँदैछ । हामि सुचना जारी गर्छौ । भ्याक्सिन लगाउन कोही पनि नछुट्नु होला । भ्याक्सिन लगाउने केन्द्र तोकेर हामी तपाईहरुलाई खबर गर्छौ । भ्याक्सिन लगाउन अत्यन्तै जरुरी छ । कोरोनाबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भ्याक्सिनप्रति विश्वास गर्न पनि अनुरोध गर्छु,’ मेयर राईले भन्नुभयो ।

उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञादेवि निरौलाले ५६ जना, ह्वीलचियर, ट्वाईलेट ह्वीलचियर ५ जना, एल स्टीक ५६ जना र हियरिङ एड ५ जनालाई आज वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केही अशक्त व्यक्तिहरु छुटेका छन् । उनिहरुलाई आगामी कार्यक्रममा वितरण गरिने उहाँले बताउनुभयो । प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाण्डेसनको संयूक्त साझेदारीमा सञ्चालनमा ल्याएको यसको सम्झौता ३ वर्षको रहेको छ । वार्षिक रुपमा ७२ लाख रुपैयाँ बजेट छुट्याएर यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एक वर्ष सकिएको उहाँले जानकारी दिनुभयो । गत चैत २१ गतेदेखि वैशाख २० गतेसम्म धरानका १२ स्थानमा केन्द्र तोकेर अशक्त व्यक्तिहरुको स्वास्थ्य शिविर गरिएको थियो । गत वर्षको असारबाट यो कार्यक्रम सुचारु हुनुपर्ने हो । कोरोनाका कारण गत पुषदेखि सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । सामाजिक विकास महाशाखाका अनुसार धरानमा लगभग ११ सयदेखि १२ सयको हाराहारीमा असक्त व्यक्तिहरु रहेका छन् । उनिहरुलाई ४ वर्गमा विभाजन गरेर कार्ड वितरण गरिएको थियो । केही दिनअघिमात्र उनीहरुलाई क वर्ग रातो, ख वर्ग निलो, ग वर्ग पहेलो र घ वर्ग सेतो कार्ड वितरण गरिएको जनाएको छ । अझै खोजी गर्नका लागि सामाजिक विकास महाशाखाले १० जना सहजकर्ता खटाइएको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x