धरान : नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणले च्याप्दै गएको भन्दै धरानमा कडा लकडाउन हुने निश्चित भएको छ ।

‘चेनब्रेक’ गर्ने भन्दै धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म कडाखालको लकडाउन गरिने जनाइएको छ ।

धरान उपमहानगरपालिकामा सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेशकुमार ढकालको उपस्थितिमा सुरक्षा अधिकारीहरुसहित भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

‘चेनब्रेक’ गर्न भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बैठकको यो निर्णयलाई भोलि मङ्गलबार धरान उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकमा प्रस्तुत गरेर अनुमोदन गरेपछि जिल्ला प्रशासनमा पठाइने र जिल्ला प्रशासनले धरानमा लकडाउनको निर्णय गर्ने जनाइएको छ ।

राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सुरक्षा निकायका प्रतिनिधिहरुसँगको छलफलपछि धरानमा चेनब्रेक गर्ने भन्दै सो निर्णय गरिएको मेयर तिलक राईले जानकारी दिए । लकडाउनका अवधिमा सर्वसाधारण घरबाट निस्किन समेत पाउने छैनन् ।

‘४ गतेदेखि १३ गतेसम्म लकडाउन गर्नका लागि कार्यपालिकामा सिफारिस भएको छ, कार्यपालिकाको बैठकले सो निर्णय गर्नेछ ।’ उनले भने । उनका अनुसार १० दिनदेखि उता लकडाउन नगरिने जानकारी दिए । ‘खासमा भन्ने हो दशैं, तिहारजस्ता महत्वपूर्ण चाडबाडमा लकडाउन गर्न नपरोस् भनेर यस्तो निर्णय गरिएको हो, १० दिन चेनब्रेककै लागि लकडाउन गर्न खोजिएको हो, त्यहाँदेखि उता लकडाउन नै गर्न पर्दैन भन्ने हो ।’

समुदाय स्तरमा कोरोना सङ्क्रमण उच्च भएको र धरान उच्च जोखिममा रहेकोले कडा लकडाउन गर्दै चेनब्रेक गर्न लागिएको उनको भनाइ थियो ।

यसैबीच सुनसरी जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि स्थानीय तहलाई नै लकडाउन गर्न सक्ने अधिकार दिएको छ । प्रशासनले भदौ ७ गतेसम्म निषेधाज्ञा समेत लम्ब्याएको छ । प्रशासनले धरान र इटहरीको हकमा स्थानीय तहको सिफारिसअनुसार कुनैपनि बेला स्थानीय तहले नै आदेश जारी गर्न सक्ने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x