धरान । धरान उपमहानगरपालिकाको विकास र समृद्धिमा अहोरात्र आफु लागि रहँदा पनि तथ्यलाई नबुझी कपोकल्पीत र भ्रामक समाचार धरानको एउटा संचार माध्यमले निरन्तर प्रकाशित गरेकोमा धरानका मेयर तिलक राईले एक विज्ञप्ती जारीगरी आपत्ति जनाउनुभएको छ ।

धरानबाट प्रकाशित ब्लाष्ट टाईम्स दैनिकले धरान उपमहानगरपालिकाको विकास निर्माणको काममा पटक पटक भ्रामक समाचार प्रकाशित गरेको भन्दै मेयर तिलक राईले आपत्ति जनाउनु भएको हो ।

धरान उपमहानगरपालिकाको निर्णय बमोजिम नेपाल सरकारको ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिले सर्दुखोला स्थित वीपी पार्कमा सरसफाईको व्यवस्थापन गर्न आधुनिक शौचालय निर्माण कार्य शुरु गरेको छ । मेयर राईद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस विषयमा धरानबाट प्रकाशित ‘ब्लाष्ट’ दैनिकमा फागुन १३ गते विहीबारको समाचारले नगरबासीमा भ्रम फैलिन सक्ने भएकाले शौचालय निर्माणको आवश्यकता, योजना नक्सा, प्रकृयाका बारेमा स्पष्ट गर्दै सोही दिन पत्रकार सम्मेलन गरिएको थियो ।’

‘पत्रकार सम्मेलनमा उक्त दैनिकका संवाददाता खिलानाथ विक र नवराज विष्ट पनि उपस्थित हुनुहुन्थ्यो । तर फागुन १४ शुक्रवारको ‘ब्लाष्ट’ दैनिकमा पत्रकार सम्मेलनमा मैले दिएको स्पष्टिकरणको ठिक उल्टो भन्दै नभनेको झुटो कुरा समाचारको रुपमा प्रकाशित भयो । यसरी थप भ्रामक समाचार प्रकाशित भएपछि शुक्रबारै ‘ब्लाष्ट’ दैनिकको कार्यालयमा गएर प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्की, कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, सममाचार सम्प्रेषण गर्नुहुने पत्रकारद्धय गोपाल दहाल, खिलानाथ विक समक्ष प्रकाशित समाचारले भ्रम फैलाएको धारणा राखेको थिएँ’ विज्ञप्तीमा भनिएको छ ।

ब्लाष्ट टाईम्स दैनिकले मेयर राईले पत्रकार सम्मेलनमा भनेका कुरा भन्दा ठिक उल्टो समाचार प्रकाशित गरेको थियो । विज्ञप्तीमा भनिएको छ, ‘उहाँहरुसंग भएको छलफलको क्रममा विहीवार भएको पत्रकार सम्मेलनमा भनिएका कुरा भन्दा ठिक उल्टो समाचार प्रकाशित भएको कुरालाई उहाँहरुले स्विकार गर्नु भएको थियो । प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्कीले समाचारमा त्रुटि भएकाले आज शनिवारको अंकमा सच्याएर अर्को समाचार प्रकाशित गर्ने बचन दिनु भएको थियो । तर उहाँले दिनुभएको बचन अनुसार आज शनिवारको ‘ब्लाष्ट’ दैनिकमा त्यस बारे पत्रिकाको कुनै कुनामा भूल सुधार समेत प्रकाशित नभएको देख्दा आश्चर्य लागेको छ ।’

‘‘ब्लाष्ट’ दैनिक पत्रिका धरानबाट प्रकाशित पूर्वाञ्चलको अग्रणी पत्रिका हो । यसमा प्रकाशित समाचार धेरै पाठकले पढ्दछन् । तसर्थ समाचार गलत भयो, समाचारमा त्रुटि भयो भने पनि त्यस्को गलत सन्देश पाठकहरुमा जाने र गलत बुझ्ने अवस्था सिर्जना हुन्छ । तसर्थ धरानको विकास र निर्माणका विषयहरुमा गलत सन्देश जाने समाचार प्रति ‘ब्लाष्ट’का पत्रकारहरुको टिम सम्बेदनशील, सजग र राजनीतिक पूर्वाग्रह रहित रहनुपर्ने आवश्यकता बढेको मैलै महशुस गरेको छु ।’
वीपी पार्कमा निर्माणाधिन आधुनिक सुविधायुक्त शौचालय धरानको पर्यटकियस्थलको रुपमा विकसित हुँदै आएको उक्त स्थलको लागि आवश्यकता हो । पार्कमा दैनिक घुम्न आउनेको संख्या सैयौं हुने गरेको छ । भविष्यमा पार्कको भौतिक विकास संगै यहाँ अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै जाने पूर्व अनुमान अनुसार त्यहाँ सरसफाईको पूर्व योजना अनुसार व्यवस्थित र सुविधायुक्त शौचालय बनाउन जरुरी भएको हुँदा उपमहानगरपालिकाले ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिको डिजाईन अनुसारको योजना वीपी पार्कमा कार्यान्वयन गरेको हो ।
वीपी पार्कमा भएको अस्थायी रिङ हालेर बनाइएको शुलभ शौचालय सरसफाईको दृष्टिले अव्यवस्थित छ । रिङ जमिनमाथी रहेको ढक्कनबाट दुर्गन्ध आउनुका साथै उक्त प्रविधि जमिनमा सोस्ने भएकाले त्यहाँको फोहोर व्यवस्थापन गर्न जरुरी छ । भविष्यमा पार्कमा बढ्ने पर्यटकको चापबाट उत्सर्जन हुने फोहोर व्यवस्थित गर्न उक्त शौचालयले धान्न सक्दैन । त्यसैले सोही ठाउँमा नयाँ सुविधायुक्त शौचालयको योजना कार्यान्वयन गरिएको हो ।

१ हजार स्क्वायर फिटमा बन्न लागेको शौचालयमा पुरुषका लागि २ ट्वाइलेट, ५ युरिनल, महिलाका लागि ३ ट्वाइलेट रहने छ । अपाङ्गमैत्री ट्वाइलेट १ कोठा सहित एउटा सर्भिस रुम पनि हुनेछ । शौचालयको शकपिटमा फोहोर जम्मा भएपछि अन्यत्र लगेर डम्पगर्न मिल्ने गरी सिमेन्टको प्लाष्टर गरी बनाइने छ । डिजाईन र निर्माणको टेण्डर सरसफाई कोषले नै गरेको हो । पार्कमा शौचालय आवश्यक भएको माग स्थानिय समुदाय, आमा समुह, ओशो आश्रम समेतको भेलाले छलफल गरी उपमहानगरपालिकासंग सम्झौता गरेपछि योजना कार्यान्वयनको निर्णय गरिएको हो ।

धरानका लागि प्रस्तावित यस्ता ३ परियोजना मध्ये एउटा उपमहानगरपालिको सिफारिसमा धरान-१२ स्थित पब्लिक हाई स्कुलमा निर्माण हुनेछ । धरान-धनकुटा सडकको शुरुविन्दुमा बनाउने योजना वेश क्याम्पमा बनाउने भनिएपनि जग्गा नपाएपछि वीपी पार्कमा प्रस्ताव गरिएको हो । तेश्रो योजना सेउती पूलमा बनाउने भएपनि सरसफाई कोषले नै कटौती गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘उक्त तथ्यलाई ओझेलमा पारेर धरानको पर्यटकिय पूर्वाधार निर्माणको कार्यमा अवरोध पु¥याउने राजनीतिक, व्यक्तिगत पूर्वाग्रह लाई ‘ब्लष्ट’मा सम्प्रेषित समाचारले सघाएको मैले महशुस गरेको धरानबासीलाई अवगत गराउन चाहन्छु । सरसफाईको वैज्ञानिक व्यवस्थापनको निर्माण कार्यप्रति भ्रम फैलिने गरी निर्माणस्थलमा कांग्रेस सभापति शेरबहादुर देउवाले वृक्षारोपण गर्नु भएको रुख मेयरले काट्न लगायो भनि समाचारमा भनिएको कुराले भ्रम फैलाउनलाई सहयोग गरेको बुझिन्छ ।’

‘पत्रकार सम्मेलनमा स्पष्ट रुपमा मैले भनेको थिएँ, ब्लाष्टमा छापिएको समाचारमा रुख काटिएको कुरा पढेपछि मात्र थाहा पाएर दुःखी भएँ । योजना अनुसार त्यहाँको दुई वटा रुखलाई जोगाएर बिचको भागमा शौचालय निर्माण गर्ने नक्सा रहेको छ । नक्सा अनुसार निर्माणस्थलमा काम शुरुगर्दा त्यहाँ उपस्थित व्यक्तिहरुले एलाइनमेन्ट परिवर्तन गरी रुख कटाएको कामदारहरुले बताएको पत्रकार सम्मेलनमा मैलै जानकारी गराएको थिएँ । तर पत्रकार सम्मेलनमा भनेको कुरा उल्लेख नगरी एउटा रुख काटिएकोमा ५ वटा रुख काटिएको भनि शुक्रवार व्लाष्टको समाचारमा उल्लेख हुनु तथ्य नबुझि समाचार लेखिएकोमा मेरो आपत्ति छ’ विज्ञप्तीमा भन्एिको छ ।

विज्ञप्तीमा पत्रकार सम्मेलनमा मैले राखेका धारणालाई अन्य समाचार माध्यमहरुले निस्पक्ष रुपमा प्रकाशित गरेकोमा सम्बद्ध अनलाईन, छापा माध्यम र रेडियो एफएमका पत्रकारहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु भनेर मेयर राईले उल्लेख गर्नु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x