धरान । धरान ५ साउनेटार, धरान ४ को मङ्गलटार, सुमनटार, हर्दिया, धनकुटाको कन्यापोखरी हुँदै मोरङको केराबारी गाउँपालिकाको मितेरी गाउँसम्म जोड्ने सडकको धरान उपमहानगरपालिकाका मेयर सहितको टोलीले आईतबार साउनेटार पुगेर निरिक्षण गरेको छ ।

उक्त सडकमा दैनिक रुपमा सवारी दुर्घटना भइरहने, वर्षातको समयमा आवतजावत गर्न समस्या हुने गर्दथ्यो । अब भने समस्या टर्ने भएको छ । करिब १ सय ८ मिटर रहेको उक्त सडकको चौडाई २० फिट छ भने टर्निङ ३० फिटको बन्दैछ । आफ्नो गाउँ आफै बनाउनुपर्छ भन्ने उद्देश्यले सडकको ग्राबेल तथा ढलाई गर्न साउनेका स्थानीय जुटेका छन् । उक्त एक खण्ड सडक निर्माण सम्पन्न गर्नका लागि १७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । धरान उपमहानगरपालिकाले ५० प्रतिशत सहयोग गरेको छ भने उपभोक्ता समिति तथा स्थानीयको जनसभागिता र श्रमदानबाट ५० प्रतिशत बजेट छुट्याइएको छ ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज महरका अनुसार साउनेटारको एक खण्ड सडक निर्माणको काम अब ३, ४ दिन भित्रमा सम्पन्न हुनेछ । सडक निर्माणका लागि धरान उपमहानगरपालिकाले विपद कोषबाट ८ लाख ५० हजार रुपैयाँ अर्थात ५० प्रतिशत सहयोग गरेको उहाँले जानकारी दिनुभयो । अहिले स्थानीयको सहभागिता र श्रमदानबाट समेत निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । उक्त एक खण्ड सडक निर्माण वडा कार्यालयसँग पनि सहकार्य गरेर काम गरिरहेको उहाँले बताउनुभयो ।
वडा नं. ५ का अध्यक्ष सन्तोष लिम्बुले बर्खायाममा यो बाटोमा हिड्न अत्यन्तै समस्या रहेको बताउनुभभयो । उहाले भन्नुभयो, ‘यो उकालोमा सवारी साधन चिप्लिने, दुर्घटना दैनिक जसो भइरहने, ३,४ दिन भित्रमा निर्माण सम्पन्न हुन्छ, अब भने दिगो रुपमा समस्या समाधान हुन्छ । दुर्घटना रोकथाम गर्नकै लागि मध्यनजर गर्दै विगत ११ दिनदेखि सडकको ग्राबेल र ढलाई गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

सडक अनुगमनमा पुगेका धरान उपमहानगरका प्रमुख तिलक राईले उपभोक्ता समितिलाई सक्रियता पूर्वक काम गरेको भन्दै धन्यवाद दिनुभएको छ । आईतबार उक्त सडकको निरिक्षण गर्न पुगेका प्रमुख राईले नगरपालिकाले उपभोक्ताको लगानी अर्थात सहयोगमा नमुना योग्य काम भइरहेको बताउनुभयो । प्रमुख राईले भन्नुभयो, ‘त्यो सडकको एक खण्डमा अत्यन्तै उकालो, ओरालो भिरालो बाटो थियो । त्यहाँ ग्राबेल र ढलाई गर्न आवश्यक थियो । त्यहाँबाट वार्ड नं. ५ को साविक पाँचकन्याको पहाडी भूगोल र मोरङ समेत जोड्ने भएको हुनाले त्यो महत्वपूर्ण बाटो हो ।’ अब त्यहाँ ग्राबेल र ढलाईको काम सकिएपछि स्थानीयलाई आवतजावत गर्न सजिलो हुने बताउदै सवारी दुर्घटना जस्तो जोखिम समेत टरेर जाने नगर प्रमुख राईले बताउनुभयो ।

निरिक्षणमा धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी सहितको टोली पनि पुगेको थियो । धरान उपमहानगरका उपमेयर सुवेदीले उक्त सडकको आईतबार निरिक्षण गर्न गएको जानकारी दिनुभयो । निरिक्षणको क्रममा सडक निर्माणमा स्थानीयबासी एकजुट भएर लागेको उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x