धरान । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जिम्मेवार व्यक्ति जवाफदेही बन्नुपर्नेमा जोड दिएका छन् । सुनसरीको इटहरीमा आज (बुधबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले ३० औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले जिम्मेवार व्यक्तिले जवाफदेही भए खण्डमा विद्यमान समस्या कम हुँदै जाने बताउनुभयो ।

जिम्मेवारी लिन रस्साकस्सी गर्ने र जवाफदेही बन्ने ठाउँमा लुक्ने प्रवृत्ति बढेका कारण अनियमितता तथा भ्रष्टाचार बढेको तर्क गर्नुभयो । अख्तियार भन्ने बित्तिकै दुई खालका व्यक्तिहरू तर्सिने गरेको उल्लेख गर्दै प्रदेश प्रमुख प्यासीले भन्नुभयो, ‘अख्तियारदेखि बुझेका व्यक्ति र अर्को नबुझेको व्यक्ति तर्सिने गरेका छन् ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख बाबुराम खतिवडाले प्रदेश र स्थानीय सरकारले विभिन्न कानुन निर्माण गरेपनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो । ‘कानुन निर्माणमा छलफल भएको भए कार्यान्वयन गर्न सजिलो हुन्थ्यो, अहिले कार्यान्वयन फितलो देखिन्छ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म सबैभन्दा बढी स्थानीय तहको भ्रष्ट्राचार सम्बन्धि उजुरी परेको छ, हामीलाई अनुसन्धान गर्नका लागि पनि कानुनले खुट्टा बाँधेको छ ।’

उहाँले आयोगप्रति जनताको विश्वास भएकाले उजुरी परेका निवेदनहरुबारे आफूहरु निष्पक्ष रुपमा छानिबन र अनुसन्धान गरिरहेको बताउनुभयो । ‘शक्ति र अधिकार सबैभन्दा बढी जहाँ छ, त्यहाँ धेरै भ्रष्ट्राचार हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै भ्रष्ट्राचार गर्ने व्यक्तिहरु अहिले पनि कानुनी दायरामा आउन सकिरहेका छैनन्, भ्रष्ट्राचारलाई शून्यमा झार्न मुश्किल पर्छ ।’

उहाँका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले एकवर्षको अवधिमा २४ जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७६७७ मा २० वटा स्ट्रिङ अप्रेशनमा २४ जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

‘पक्राउ पर्नेमा अधिकृतस्तरका ४, सहायकस्तरका १७, जनप्रतिनिधि १ र अन्य दुईजना रहेका छन्,’ उहााले भन्नुभयो, ‘१६६ उजुरीको आधारमा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हो ।’ यसैगरी रंगेहात पक्राउ गरी विशेष अदालतमा २० वटा मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रदेश १ का सभामुख प्रदीप भण्डारीले भ्रष्ट्राचार गर्नु अपराध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जहाँ सुशासन हुन्छ त्यहाँ भ्रष्टाचार हुँदैन, जहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ सुशासन हुँदैन । भ्रष्टाचार अपराध हो, बिकृती हो ।’ उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताउँदै कर्मचारीहरुलाई पारदर्शी र जनउत्तरदायी बनाउन आवश्यक रहेको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अख्तियार स्वतन्त्र, न्यायिक र पारदर्शी हुनुपर्ने बताउनुभयो । ‘हरेक मानिसले कर्तव्य र जिम्मेवारीलाई इमानदारी पूर्वक बहन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सुशासन नै समृद्धिको आधार रहेकाले इमान्दार भएर काम गर्न आवश्यक छ ।’ उनले अख्तियार राजनीतिक भागबन्डा भन्दा माथि उठ्नुपर्ने तर्क गर्नुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनप्रतिनिधिहरु नै अलमलिइरहेको बताउनुभयो । उहाँले अहिले प्रत्येक स्थानीय तहमा अधिकारको बाँडफाँड गरेपनि निगरानी नभएका कारण सर्वसाधारण मानिसहरु पीडित बन्नुपरेको उदृत गर्नुभयो ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कर्मचारीहरु अख्तियार देखि डराउनु परेको बताउनुभयो । ‘अख्तियार भन्ने बित्तिकै कर्मचारी डराउने गरेका छन्, यो किन हुन्छ ? आवश्यक अनुसन्धान हुन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘काम गर्ने वातावरण नभएकाले यसमा अख्तियारले सहजीकरण गरिदिनुपर्ने स्थिति रहेको छ ।’

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, मुख्यमन्त्री कार्यालयका सचिव दिनेश भट्टराई, जिसस सुनसरी उपप्रमुख कृष्णकुमारी विश्वकर्मा लगायतले सम्बोधन गर्दै स्थानीय तहले थुप्रै ऐन कानुन बनाएपनि पालना नभइराखेको बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x