उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरू कन्सल्टेन्सीमा आबद्ध भएको पाइएमा कारबाही गर्ने निर्णय
धरान । धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले फागुन ६, ७ र ८ गते तीन दिन प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने सहित विभिन्न निर्णयहरु गरेको छ

गृह मन्त्रालयका परिपत्र अनुसार फागुन ६, ७ र ८ गते तीन दिन प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने नगर प्रमुख तिलक राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको हो । परिपत्र अनुसार वडाहरुले पनि विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने, नगरतहमा ६ गते आजदेखि नै विभिन्न कार्यक्रमहरु गर्ने, साँझमा दिप प्रज्वलन गर्ने, ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस सम्बन्धि उपमहानगरपालिकाको प्रांगनमा सभाको आयोजना गर्ने र ८ गते धरान रनमा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ अंकित ब्यानरसहितको बेलुन उडाउने निर्णय भएको छ ।

घरनक्शा पास र बाटोको मापदण्डको समस्याहरुलाई सम्बन्धित महाशाखाले तयार गर्ने जनाएको छ । उक्त विषयमा यसअघि बनेको समितिले अध्ययन गरेर प्रतिवेदन दिएको वडा नं. १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईको संयोजकत्वमा त्यो समितिसहित छलफल गरेर निश्कर्षमा पुग्ने र त्यो कार्यपालिकामा लगेर पास गर्ने निर्णय भएको छ ।

उपमहानगरपालिकाको घरनक्शा फाँटमा कार्यरत कर्मचारीहरु कन्सल्टेन्सीमा आवद्ध भएको बैठकमा कुरा उठेको छ । अब देखि कर्मचारीहरु कन्सल्टेन्सीमा आवद्ध भएको पाइएमा कार्बाही गर्ने निर्णय भएको छ । सो सम्बन्धमा उपमहानगरपालिकाले निगरानी बढाएको र अनावश्यक गुनासो सेवाग्राहीबाट आए कार्बाही गर्ने उपमहानगरपालिकाको उच्च स्रोतले जनाएको छ ।

यस्तै वडा नं. १९ को डेण्टल गेटदेखि पानीट्याङ्की हुँदै इलाका प्रहरी कार्यालयसम्म आउने बाटोको विषयमा विगतमा फरक निर्णय भएको थियो । उक्त बाटोको नाम मुनामदन मार्ग भन्ने निर्णय भएको र अहिले आएर त्यहाँका स्थानीय, टोलबासीहरु र वडासमितिसहितको छलफल भएर उक्त बाटो मुनामदन मार्गबाट विकास मार्ग भनेर नामाकरण गर्ने र मापदण्ड २० फिट कायम गर्ने निर्णय भएको छ ।

धरान १८ स्थित रहेको डिपोट स्कुलको जग्गाको विषयमा समस्या रहेको छ । डिपोट स्कुलको जग्गा विगतमा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग भोगाधिकार स्कुलले लिएको र नेपाल सरकारले पछि आएर भोगाधिकारमा भएका जग्गाहरु सबै लिजमा दिनु भनेर सुचना आह्वान गरेको थियो । उक्त सुचना अनुसार स्कुल लिज प्रक्रियामा नगएपछि अहिले आएर उक्त जग्गा स्वतः नेपाल सरकारको नाममा गएको छ । डिपोट स्कुलको १३ बिघा १० कट्ठा ६ धुर जग्गा रहेको छ । जसमा स्कूलले इजि राइडर्स लाई लिजमा दिएको पश्चिम पट्टिको ३ बिघा जग्गालाई धरानको खेलकुद प्रयोजनका लागि खेलमैदानको रुपमा विकास गर्ने र विद्यालयको भौतिक संरचना रहेको, घेराभित्रको १० बिघा १० कट्ठा ६ धुर जग्गालाई लिज प्रक्रियामा समावेश गरिदिनका लागि सम्बन्धित निकायलाई सिफारिश गर्ने निर्णय भएको छ ।

यस्तै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुका लागि सहजिकरण समिति बनाउने निर्णय भएको छ । जसमा नगरतहमा नगर प्रमुखको संयोजकत्वमा समिति बनाउने व्यवस्था भए बमोजिम पदेन सदस्यहरु बाहेकका सदस्यहरुलाई मनोनयन गरिएको छ । आयोगको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय तहबाट लगत संकलन सम्बन्धि कार्यविधि २०७७ को सहजिकरण समितिको १(घ) मा कार्यपालिकाको महिला सदस्यहरु मध्येबाट हिरादेवि राई र कल्पना मगर छन् भने १(ङ) अनुसार संयोजकले मनोनयन गरेका भूमि, आवास लगायतका क्षेत्रमा काम गरिरहेका संघ संस्था, संगठन वा नागरिक समाजका प्रतिनिधिबाट नेपाल बसोबास बस्ति संरक्षण समाज धरानका सचिव सुबास राई र समाजसेवी पञ्चकला राईलाई मनोनयन गरीएको प्रस्तावलाई कार्यपालिकाको बैठकले छलफल सहित पारित गरेको छ । नगर स्तरिय सहजिकरण समितिमा संयोजक नगर प्रमुख तिलक राई, उपसंयोजक उपप्रमुख मञ्जु भण्डारी सुवेदी, सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल र स्थानीय तहमा क्रियाशिल राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलका प्रमुख वा निजले तोकेका प्रतिनिधि पदेन सदस्य रहने छन् । साथै वडा वडामा पनि समन्वय समिति गठन गर्ने सहमति भएको छ ।

यस्तै १६ नं. वडालाई फागुन १६ गते बालमैत्री वडा घोषणा गर्न स्वीकृति दिने निर्णय भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x