धरान । धरानमा गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोश्रो मात्राको खोप लगाइने भएको छ ।

सोमबार धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन गर्दै असार २२ र २३ गते दुई दिन भेरोसेलको दोस्रो मात्रा लगाउने जानकारी दिएको हो । स्वास्थ्य महाशाखाले जानकारी दिए अनुसार धरानको ३ स्थानमा खोप केन्द्र तोकिएको छ । धरानको छाताचोकस्थित स्वास्थ्य चौकी, धरान १५ स्थित श्याम चोक सेवा समाजको भवन र धरान १८ स्थित कार्मेल हाईस्कुलमा खोप केन्द्र रहने छन् ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार तोकिएको खोप केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ । प्रमुख मेहताले गत जेठ २५, २६ र २७ गते भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो मात्राको खोप दिइने जानकारी दिनुभयो । गत जेठ अन्तिम साता सञ्चालन गरिएको खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समुहकालाई भेरो सेलको पहिलो मात्रा लगाइएको थियो । यस्तै, अन्य लक्षित समुहलाई पनि दिइएको थियो । यसपटक भने ज्येष्ठ नागरिकहरुलाई सहज बनाउनका लागि अलग्गै लाइनको व्यवस्था गरिने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक २ जना बराबर मात्र अर्को लक्षित समुहका १ जनालाई खोप लगाउने व्यवस्था हुनेछ । गत जेठमा खोप अभियानको क्रममा २ हजार १ सय ४४ जनाले भेरोसेल खोपको मात्रा लगाएका थिए । त्यसबाहेक थप २ सय जनालाई पनि भेरोसेल खोप दिइएको थियो भने उनीहरुलाई दोश्रो मात्राको भेरोसेल खोप पछि लगाईने स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखा प्रमुख मेहेताले असार २२ र २३ गते दुईदिन लगाईने खोप अभियानमा २ हजार १ सय ४४ जनालाई मात्र दोश्रो मात्राको भेरोसेल खोप लगाईने छ । भेरोसेल खोपको पहिलो मात्रा कुन स्थानमा गएर लगाएका थिए । उनीहरुले यसपटक जादाँ अनिवार्य खोप कार्ड लिएर त्यहि ठाउँमा गएर खोप लगाउनुपर्ने स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखाका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई पनि सरकारले चाडै दोस्रो खोपको व्यवस्था गर्ने जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा यसअघि १३ हजार २ सय ३१ जनाले भेरो सेलको पहिलो मात्रा लगाएका थिए । असार २२ र २३ गते ती मध्ये ५ हजार ७ सय २० जनालाई दोस्रो मात्रा लगाइने छ भने बाकी रहेकालाई अर्को चरणमा लगाइने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x