धरान । प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोईरालाले धरानमा कांग्रेस आफ्नै खुट्टामा उभिन सफल भएको बताउनुभएको छ । 

३९ औं वीपी स्मृति दिवसको अबसरमा धरान २ स्थित नवनिर्मित पार्टीको भवनमा आयोजित विचार गोष्ठी कार्यक्रममा नेता कोईरालाले यस्तो बताउनुभएको हो ।  प्रमुख अतिथि समेत रहेका नेता कोईरालाले सम्बोधन गर्दै जननायक वीपी कोईरालाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै चर्चा गर्नुभयो । उपनिर्वाचनमा नगर प्रमुख पदमा जित हासिल गर्नुका साथै उहाँले आफ्नै पार्टी कार्यालयको भवन निर्माण गर्न सफल भएकोमा बधाई समेत दिनुभयो । पार्टीको वडादेखि केन्द्रसम्मको महाधिवेशन आउँदैछ । केन्द्रले निर्देशन दियो भने तोकिएकै मितिमा वडाको अधिवेशन गराउने उहाँले बताउनुभयो ।  उहाँले १४ औं महाधिवेशनमा यो गुट, त्यो गुट भन्दा पनि एकढिक्का भएर अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो । सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठले आजको दिन ऐतिहासिक दिन रहेको बताउनुभयो । उहाँले धरान कांग्रेसको ईतिहासमै उपनिर्वाचनमा जित हासिल गर्न सकेको, धरान १३ स्थित जननायक विपीको नाममा विपी पार्क स्थल बनाउन र अग्रज नेताद्धय बलबहादुर राई÷भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । 

केन्द्रले आ-आफ्नो क्षेत्रमा ३९ औं विपी स्मृति दिवस मनाउन निर्देशन दिएसँगै आफ्नै नवनिर्मित पार्टी कार्यालयको भवनमा जननायक विपीको सम्झनामा स्मृति दिवस मनाइएको धरानका मेयर समेत रहेका कांग्रेस नगर सभापति तिलक राईले बताउनुभयो । नेपाली कांग्रेसले धेरै लामो समयपछि स्थानीय तहमा निर्वाचन जितेको जस्ले गर्दा पार्टीलाई गर्विलो बनाएको उहाँको भनाई थियो । उहाँका अनुसार कांग्रेसकी नेतृ एवं वडा नं. १८ बाट निर्वाचित वडा सदस्य दिलकुमारी राईले धरान २ स्थित निकेतन गल्लीमा निःशुल्क पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनु भएको हो । बलबहादुर राई÷भिमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा तिन तलाको पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएको नगर सभापति राईले बताउनुभयो । उहाँले पार्टी कार्यालय भवनको औपचारिक रुपमा उद्घाटन गराउन पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आग्रह गरेको पनि जानकारी दिनुभयो । साथै, उहाँले कोरोना महामारीको प्रभाव धरानमा पनि अत्याधिक रुपमा परेको भन्दै सचेत र सजग हुन आग्रह गनुभयो ।  

नेपाली कांग्रेस सुनसरीका पूर्व जिल्ला सचिव गिरीराज आचार्यले मेयर एवं नगर सभापति तिलक राईको अगुवाईमा पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । नेपाली कांग्रेसको १५ वर्षपछिको सपना आज पुरा भएको उहाँले बताउनुभयो । धरानमा संगठन बलियो हुँदै गएको उहाँको भनाई थियो । 

यसअघि बिहान धरान १३ स्थित वीपी पार्कमा वीपीको पूर्णकदको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश १ प्रदेशसभाका सांसद चन्द्र प्रसाद श्रेष्ठ, कांग्रेस सुनसरी श्रेत्र नं. १ सभापति सुरेशमान श्रेष्ठ, धरानका मेयर समेत रहेका कांग्रेस नगर सभापति तिलक राईसहितको नेताहरुले वीपीको पूर्णकदको शालिकमा माल्यार्पण गरेका थिए । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x