धरान । धरानमा समान कामको समान ज्याला दिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ ।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार धरानमा आयोतिज कार्यक्रममा मेयर, उपमेयरसहित निर्माण व्यवसायी र अधिकारकर्मीहरुले हस्ताक्षर गरेका हुन् । महिला अधिकारकर्मीहरुले लामो समयदेखि समान कामको समान ज्याला हुनुपर्ने माग गर्दै आइरहेका छन् । धरान उपमहानगरको आयोजना र महिला सञ्जाल धरानको सहआयोजनामा भएको कार्यक्रममा यो माग अनुसार समान कामको समान ज्याला उपलब्ध गराउने प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं मेयर तिलक राईले सबै पुरुष एकै नहुन सक्ने र सबै महिला पनि एकै नहुन सक्ने बताउनुभयो । उहाले समाजमा चल्दै आएको संस्कार, संस्कृति र परम्पराले गर्दा पुरुष कमाउन जानुपर्ने, महिला घर गृहस्थी गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले समानता र सकरात्मक दृष्टिले हेर्नुपर्ने पनि बताउनुभयो । ‘जो ढोगी पुरुष छ, बाहिर केही गर्न सक्दैन, बाहिर केही गर्न नसकेर घरमा आएर झगडा गर्छ भने त्यो पुरुष चाँहि फटाहा हो,’ उहाले भन्नुभयो, ‘तर, जो श्रीमान आफ्नो घर गृहस्थी, आफ्नो परिवारको सुख सयलको लागि विदेश जान्छ, जागिर खान्छ, परिवारबाट टाढा रहन्छ भने त्यसलाई अन्यथा लिनुहुन्न भन्ने लाग्छ मलाई ।’
उहाले समाजलाई एउटै दृष्टिकोणले हेर्न आग्रह गर्दै समाजमा हामीले ठिक ढंगले सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो । ‘समानता भनेको पुरुषको लागि पनि हो, महिलाको लागि पनि हो,’ उहाँ भन्नुभयो । उपमेयर मञ्जु भण्डारी सुवेदीले धरानलाई बालमैत्री वडा घोषणा गरे पनि आमाबुबासँग हिँडेका बालबालिका काखमा निदाउने गरेको बताउँदै बालबालिका सुताउने ठाउँ नभएको बताउनुभयो । स्तनपानको लागि छुट्टै व्यवस्था नभएकाले यसतर्फ पनि सहज वातावरण बनाउन लागि पर्ने उहाको भनाई थियो । उहाले श्रमिक महिलाहरुलाई समान कामको समान ज्याला दिन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

निर्माण व्यवसायी संघका अध्यक्ष नारायण लिम्बुले महिलाहरुलाई समान कामको समान ज्याला दिने प्रतिवद्धता गर्नु भएकोछ । अन्य वक्ताहरु प्राध्यापक रुक्मणी श्रेष्ठ, अधिकारकर्मी मिना पुलामी, पूर्व सांसद एवं साहित्यकार कुन्ता शर्मा, नेकपा एमाले धरानकी उपाध्यक्ष सविता चाम्लिङ, नेपाली कांग्रेस धरानकी महिला विभाग प्रमुख पञ्चकला राई, संघिय लिम्बुवान महिला मञ्चकी अध्यक्ष सरस्वती सुब्बा, क्यूपेक नेपाल सुनसरीका अध्यक्ष बाल कुमार श्रेष्ठ, जनता समाजवादी धरानकी उपाध्यक्ष विना पुमा राईलगायत महिला अधिकारकर्मीले समान कामको समान ज्याला दिन आग्रह गर्नुभयो ।