धरान । धरानमा स्मार्ट बसपार्क बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार उपमहानगरपालिका र निर्माण व्यवसायी गिताञ्जली जेभि दुहबी सुनसरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनिसँग सम्झौता पत्रमा हस्ताक्षर भएको धरान उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिनुभयो । धरान ८ स्थित तीनकुने शुन्दर बस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको छ । ठेकेदार कम्पनिले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडी बढाउने इञ्जिनियर श्रेष्ठले बताउनुभयो । इञ्जिनियर श्रेष्ठका अनुसार बसपार्क करसहित गरेर २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनिसँग सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उहाँले भन्नुभयो, “३ वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । ५० प्रतिशत नेपाल सरकारको अनुदान (३ वर्षभित्रमा प्राप्त हुन्छ) भने बाँकी ५० प्रतिशत स्रोत धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।”

मेयर तिलक राईले उपमहानगरपालिकाले लामो समयदेखि थाति रहेको योजनालाई सम्झौता गरेर अगाडी बढाउन पाएको बताउनुभयो । धरानको विकास र समृद्धिको लागि विगत लामो समयदेखि बसपार्क निर्माण योजना थियो । अब चाडै पुरा हुने भयो । ठूला योजनाहरुमा विभिन्न टिकाटिप्पणी, सल्लाह सुझाव, विवादहरु हुने गरेको मेयर राईको भनाई थियो । चाडोभन्दा चाडो बसपार्क निर्माण सकियो भने धरानको शुन्दरता थप झल्किने मेयर राईको धारणा छ । मेयर राईले बसपार्क निर्माणको योजना समयमै गुणस्तरिय रुपमा सम्पन्न गर्न सुझाव दिदै ठेकेदार कम्पनिसँग आग्रह गर्नुभयो । साथै, सुरुदेखि अहिलेसम्म यस योजनामा अहोरात्र रुपमा खटेका उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई मेयर राईले धन्यवाद समेत व्यक्त गर्नुभयो ।

उपमेयर मञ्जु भण्डारीले ३० वर्षदेखि जनप्रतिनिधिले देखेको सपना अब पुरा हुन लागेको बताउनुभयो । उपमेयर भण्डारीले पनि समयमा नै योजना सम्पन्न गर्न आग्रह गर्नुभयो । निर्माण व्यवसायी गिताञ्जली जेभिका सञ्चालक सपन दासले अब १५ दिनभित्रमा काम निर्माण थाल्ने बताउनुभयो । तोकीएको समयभित्र निर्माण पुरा गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख श्रेष्ठले आयोजनामा बसपार्कका लागि मात्र ३० कठ्ठा जमीन छ । त्यसबाहेक सेल्स प्लटमा थप पाँच कठ्ठा हाराहारी खाली जग्गा पनि रहेको छ । बसपार्कका लागि ड्रेन र एजिङको काम पहिले हुने छ । वरिपरि पक्की सडक बन्ने छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार स्मार्ट बसपार्क बेसमेन्टसहित तीन तलाको हुनेछ । बेसमेन्टमा २०० साना गाडी र १५० मोटरसाइकल अट्ने पार्किङ रहनेछ । यस्तै भुइँतलामा ४९ बस अट्ने क्षमता हुनेछ । भुईतलालाई १२ वटा विभिन्न रूटमा जाने गाडी राख्ने गरी डिजाइन गरिएको छ । बसपार्कको तेस्रो तलामा यात्रु लक्षित संरचना हुनेछन् । यस तलामा क्याफे, लाइब्रेरी र व्यापारिक कक्ष रहने डिपिआरमा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap