धरान । धरानमा अहिले पनि परीक्षा होला कि नहोला भन्ने अन्यौलता कायम रहिरहेको अवस्थामा अब परीक्षा छिटोछिटो सकिहाल्ने निर्णय भएको छ । धरानमा १८ गतेसम्ममा परीक्षा गरिसक्ने गरी उपमहानगरपालिका लागेको छ । परीक्षा पनि कक्षा-५ देखि १० कक्षासम्मका विद्यार्थीको लिइने भएको छ । धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।


भोलिदेखि १८ गतेसम्ममा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा सक्ने र अन्य विषयको परीक्षा अघिल्लो परीक्षा लिइएअनुसार गर्ने निर्णय भएको धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए । ‘१८ गतेभित्रै महत्वपूर्ण विषयको परीक्षा हुनेछन् र यो सेसन सकिनेछ,’ उनले भने, ‘अन्य विषयको परीक्षा अगाडिका परीक्षाअनुसार नै हुनेछ ।’


उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर परीक्षा गराउने तयारी गरिएको बताए । ‘सिफ्ट मिलाएर राख्ने, एउटा डेस्कमा दुईजनाभन्दा बढी विद्यार्थी राख्दैनौं’, उनले भने, ‘अन्य भएका सबै सुरक्षाका मापदण्ड अपनाएर भएपनि परीक्षा सकिहाल्छौं ।’ उनले टयुसनका नाममा स्कुल सञ्चालन गर्ने गरेको पाइएकोले त्यो पनि पूर्णरुपमा बन्द गरिने जानकारी दिए । ‘अनेकौं हर्कत गर्दै पढ्ने, पढाउनेजस्ता क्रियाकलाप भइरहेको पाइएको छ, अब ती सबै बन्द गर्छौैं ।’ उनले भने ।


यसअघि धरानका निजी तथा सार्वजनिक स्कुल नयाँ शैक्षिक सत्रदेखि मात्रै सञ्चालन गर्ने भन्दै वैशाख १४ गतेदेखि परीक्षा शुरु गरेर २४ गते सक्ने तयारी थालिएको थियो । तर कोरोनाको लहर शुरु हुन थालेपछि उपमहानगरपालिका एककदम पछाडि हटेको हो । यसअघि मन्त्रिपरिषद् बैठकको निर्णयले धरानका विद्यालय पनि बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको बैठकले अति प्रभावित शहरी क्षेत्र उपत्यका, धरानलगायतको विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।


उनले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड-१९ महामारी नेपालमा समेत संक्रमण बढ्दै गएकोले यस्तो निर्णय गरिएको उनको भनाइ छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै तहका सबै किसिमका परीक्षाहरू स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सीसीएमसीको आइतबार बसेको बैठकले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको हो । तर मन्त्रिपरिषदको निर्णय आउन बाँकी छ । आज बस्ने भनिएको मन्त्रिपरिषदको निर्णयले सो निर्णय सकार्नेछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap