धरान । धरान उपमहानगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित कूल बजेट २ अर्ब ३ करोड ६४ लाख रुपैयाँ प्रस्तुत गरेको छ । यो बजेट चालु आर्थिक वर्षभन्दा ३१ करोड २८ लाख ५६ हजार ५ सय रुपैयाँले बढी हो ।

चालू आर्थिक वर्षमा नगरले एक अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय रुपैयाँ विनियोजन गरेको थियो । विहीबार सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित नगर सभामा उपप्रमुख मञ्जु भण्डारीले बजेट, निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा २० वटै वडालाई रु २८ करोड विनियोजन गरेको छ भने वडा कार्यालय भवन निर्माणको लागि थप रु १ करोड विनियोजन गरिएको छ । वडालाई दिइएको यो बजेट चालु आर्थिक बर्षको भन्दा रु ४ करोड बढी हो । मेयर कोषमा रु १ करोड २० लाख, मर्मत कोषमा रु ५० लाख, आकस्मिक कोषमा रु ३० लाख विनियोजन गरिएको छ भने चालु भैपरी आउने खर्चमा रु २० लाख र विपद व्यवस्थापन कोषमा रु १ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरि, पर्यटनमा रु ३५ लाख, युवा तथा खेलकुदमा रु १ करोड बजेट विनियोजन गरिएको छ । नगरस्तरीय ६३ वटा आयोजनाहरुको लागि रु १८ करोड ३१ लाख विनियोजन गरिएको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी कार्यक्रमको लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि रु ७ करोड बजेट विनियोजन गरेको छ । स्वास्थ्यमा भने रु ४ करोड ७५ लाख रहेको छ । कर्मचारीलाई दैनिक रु १२५ खाजा खर्च तोकिएको छ ।

व्ययतर्फ सामाजिक विकासमा रु १ करोड, आर्थिक विकासमा रु ९० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा रु ५० लाख, सूचना तथा सञ्चारमा रु ३० लाख, साहित्य कला र संस्कृतितर्फ रु २५ लाख, व्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनमा रु ५० लाख, मजदुर कल्याण कार्यक्रममा रु ५ लाख, कानून तथा न्याय सम्पादनमा रु २० लाख, सार्वजनिक जग्गा र जलाधार संरक्षणमा रु ७५ लाख, विमानस्थल जग्गा व्यवस्थापनमा रु ५० लाख बजेट विनियोजन गरेको छ ।

नगरको आन्तरिक आयतर्फ रु २७ करोड १० लाख रुपैयाँ अनुमान गरिएको छ । संघीय समानीकरण अनुदान रु ३३ करोड ९२ लाख, प्रदेश समानीकरण अनुदान रु २ करोड १ लाख ४७ हजार, संघीय राजस्व बाँडफाँडका लागि रु १७ करोड ३ लाख ८६ हजार प्रस्तुत गरिएको छ ।

प्रदेश राजस्व बाँडफाँडमा रु १७ करोड ५१ लाख ९५ हजार ७५०, संघीय शसर्त अनुदानमा रु ४६ करोड ४० लाखको अनुमान गरिएको छ । संघीय समपुरक अनुदानमा रु ३ करोड ४६ लाख, संघीय विशेष अनुदानमा रु २ करोड ९९ लाख रुपैयाँ अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकार शसर्ततर्फ रु २ करोड, धरान खानेपानी व्यवस्थापन बोर्डबाट रु १० करोड अनुमान गरिएको छ ।

नगर सभाको दोस्रो बैठक असार १९ गते

धरान उपमहानगरको नवौं नगर सभामा आगामी आर्थिक वर्ष २०७८, ७९ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत भएपछि स्थगित भएको छ । नगर सभाको दोस्रो बैठक असार १९ गते सुनसरी उद्योग वाणिज्य संघको हलमा नै हुने भएको छ । नगर सभाको प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो । त्यसपछि, बिशेष अतिथि एवं प्रदेश सभा सदस्य उमिता वराइली र प्रमुख अतिथि एवं सभामुख भण्डारीले सम्बोधन गरे पश्चात सभाध्यक्ष एवं मेयर तिलक राईले असार १९ गते बैठक बस्ने गरि स्थगित भएको घोषणा गर्नु भएको थियो ।

वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार यो बीचमा वडाहरुले आफ्नो योजना, कार्यक्रमहरु छनौट गरेर पेश गर्नुपर्नेछ भने महाशाखाहरुले पनि आफ्नो कार्यक्रम तयार गरे बजेट समितिमा पठाउनुपर्नेछ । बजेट समितिले ती कार्यक्रम तथा योजनाहरुलाई कार्यपालिकाबाट पास गरेर आउदो नगर सभाको बैठकमा पेश गर्नेछ । यस्तै, उपप्रमुख भण्डारीले पेश गरेको आर्थिक विधेयक, विनियोजन विधेयक, नीति तथा कार्यक्रमबारे सुझाव राख्न चाहने नगर सभा सदस्यहरुले असार १५ गतेसम्म नाम टिपोट गर्ने समय उपलब्ध गराएको पनि खतिवडाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x