धरान । नेपालमै सबैभन्दा बढी रनरहरुको सहभागिता हुने धरान १० के रनको नवौं संस्करण सिमित रनरको सहभागितामा शनिवार आयोजना हुदैछ।
धरान रन समुहले आज विहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै यसपटक कोरोना महामारीका कारण सिमित धावक धाविकाहरुको सहभागितामा धरान रन सम्पन्न गर्न लागेको जनाएको छ। विगतका वर्षहरुमा ५ हजार भन्दा बढी धावक धाविकाहरुको सहभागीता हुने धरान रनमा यसवर्ष १ सय ५० जना मात्र सहभागि हुने आयोजक संस्थाका अध्यक्ष रोमु राईले बताए। उनले धरान रनले ४ हप्ता गरेको ट्रायलमा धावकले ४० मिनेट र धाविकाले ५० मिनेटभन्दा कम समयमा १० के रन पूरा गर्नेले मात्रै सहभागी हुन पाउने नियम अनुसार १ सय ५० जना सहभागी गराईएको बताए।आयोजक संस्थाका अनुसार यसवर्षको धरान रनमा स्वास्थ्य प्रोटोकल अपनाई प्रतियोगिता सम्पन्न गरिने भएको छ। जसमा रनरहरुलाई धरान रन समुह आफैले माक्स र सेनिटाईजरको व्यावस्था गरिने समेत जनाएको छ।


“शिक्षाको निम्ति च्यारेटी दौड” भन्ने नारा लिएको यस नेवा च्यारिटीको नवौं संस्करणमा हुन लागेको धरान रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक धाविकाहरु समावेश हुने भएको छ। जसमा भारतको कालिङपोङ, सिक्किम, मिरिक, गुहाटी र दार्जिलिङको हिल्स म्याराथुनका प्रिमिस भुटिया समेत आउने छन्भने नेपालका ताप्लेजुङ, भोजपुर, पाँचथर, मोरङ, सुनसरी, सर्लाही, काठमाण्डौ, ललितपुर, जुम्लाका हरि रोक्का , एपिएफ र कर्णाली स्पोर्टिङ टिमबाट २ जना धरान आईसकेका छन्। प्रतियोगतामा श्रीलंका बंगलादेश, हङकङ र युकेबाट पनि रनरहरु आउने अन्तिम तयारी भएपनि कोरोनाका कारण आउन नसकेको अध्यक्ष राईले बताए।
विगतमा जस्तो विभिन्न उमेर समुह नहुने भएकोले यसपटक खुला क्याटगोरी मात्र हुने आयोजक संस्था धरान रनले जनाएको छ। जसमा महिला र पुरुषतर्फ पहिलो हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछन् भने चौथो र पाँचौं स्थान हुनेलाई पनि सान्त्वना पुरस्कार सहित आकर्षक मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगितामा भर्खरै मात्र विश्वको दोस्रो अग्लो हिमाल केटु चुचुरो आरोहण गरि विश्व किर्तीमान कायम गरेका निर्मल पुर्जा मगर लगायत १० आरोही टिमलाई स्वागत सम्मान गरिने छभने राष्ट्रिय गायक राजु लामाको पनि विशेष उपस्थिती रहने धरान रन समुहले जनाएको छ।
धरान रन समुहले कार्यक्रमबाट खर्च कटाएर जोगाएको रकम धरान रन समुहको मातहतमा रहेको नेवा एजुकेशन फण्डमा जम्मा गरिने समुहका सल्लाहकार गोपाल राईले बताए। उनले यस फण्डबाट सामुदायिक विद्यालयका २४ जना जेहेन्दार विद्यार्थीलाई दिईदै आएको छात्रवृत्तिलाई निरन्तरता दिईने समेत जनाए।
पत्रकार सम्मेलनमा यस वर्षको धरान १० के रन, नवौं नेवा च्यारिटी–२०७७को मेडल र टि सर्ट समेत सार्वजनिक गरिएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x