भोजपुर जिल्लामा जन्मनु भएका कवि प्रकाश दिप्शाली समकालीन नेपाली साहित्य एक परिचित नाम हो । उहाँको कविता संग्रह ” घायल बस्ती” २०६७ मा प्रकाशन भएको छ । कवि दिप्शाली कविता लेखन संगसंगै शिक्षण पेशामा आवद्द हुनुहुन्छ । शिक्षण पेशा संगसंगै हाल भरौल सुनसरीमा बसेर स्वर्णिम साहित्य समाज भरौल नामक संस्थाबाट साहित्य गतिविधी संचालन गरि रहनु भएको छ । उनै कवि दिप्शालीसँग एभरेष्ट डेलिले गरेको कुराकानी प्रस्तुत गरिएको छ : प्रकाश दिप्शाली

१) लकडाउनको समय कसरी के गरेर कटाइ रहनु भएको छ ?

  • लकडाउनको यो चपेटामा पारिवारिक, आर्थिक कुरा चौपट छ । सरकार जनतालाई घरभित्र थुनेर आङ्खनो स–प्रसंग व्याख्या गर्न दिनहुँ पत्रकार सम्मेलन गर्छ । सामान्यतया जनताको जीविकोपार्जन बारे योजना ल्याउँदैन । आफुलाई फाइदा हुने ठुलठुला परियोजना सञ्चालन गर्न अनुमति दिएर राज्य पक्षपातको नीतिमा लिप्त देखिन्छ । किनकी आर्थिक पाटो हेर्ने हो भने त साधनवाला, परियोजनावाला त मालामाल हसने भो दिनभरी मजदुरी गरेर खाने प्रति त रज्यले विभेद देखिन्छ नी । यही अवस्थाले निरन्तरता पायो भने त भोककै कारण भयावह अवस्था आउनेमा दुईमतै छैन । राज्य यतातिर पटक्कै सोच्न भ्याउँदैन । लाचारी भएर आफु सत्तामा कसरी रहिरहन सकिन्छ भनेर संविधानको धाराहरु कोट्याउँनमा ठिक्क छ । यो रह्यो लकडाउनका सीमाहरु । प्राण अल्झेको कारण हुन सक्छ सिर्जना क्षेत्रहरु प्राय सलबलाएको देख्छु । म आफु पनि केही कविता लेख्दैछु । मिथकहरु सम्बन्धी चलचित्र हेर्दैछु । केही पुस्तकहरु पढ्दैछु । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३ को अगुवाइमा पत्रकार र उनको सिर्जना” अभियान चलाउँदैछौँ । अब त रोगले भन्दा नि भोकले चाहीँ कति खेर प्राण जाने हो त्यता नि चिन्ता सुरु भइसकेको छ । अरु त जस्तो तपाईहरुको त्यस्तै नै हो ।

२) लेखन यात्रा कहिले देखि थाल्नु भयो ? के कुराबाट प्रभावित हुनु भयो ? कहाँबाट प्रेरणा पाउनु भयो र साहित्य लेखन तर्फ लाग्नु भयो ?

सतिसालेमा बस्थेँ, त्यो बेला कक्षा ६ पढ्दा हो मैले पहिलो पल्ट हिमाल कविता लेखेको हो । नेपाली शिक्षक वाशुदेव पौडेल हुनुहुन्थ्यो । वहाँले त्यो बेला दिनुभएको स्याबासी भुलेको छैन । २०५६÷२०५७ सालतिर सतिसालेमा प्रत्येक दशैँको नवमीको  दिन के.सी.(किरात चौक) नाट्य जमात को अगुवाइमा नाटक मञ्चन गथ्र्यौँ । त्यहाँ मञ्चन हुने प्राय नाटक म नै लेख्थेँ । साथीभाइहरुको म प्रति ठूलो सद्भाव थियो । जब नाटक मञ्चन सकिन्थ्यो । त्यस पछि छोरीचेली पात्रहरु आआफ्नो घर जान्थे । हामी केटा खालहरु खाट, सरसमानहरु थन्काउने गथ्र्यौँ । ती कामहरु सकेर ती प्रत्येक छोरीचेलीहरुको जान्थ्याँै । उनीहरुले मिठा मिठा परिकारहरु पकाइरहेका हुन्थे । अनि प्रत्येक छोरीचेली पात्रको घरमा रातैभरि घुम्थ्यौँ । कार्यक्रमको समिक्षा एकातिर हुन्थ्यो भने अर्कोतिर (गलत अर्थ नलागोस्) कार्यक्रम सफल भएको उपलक्ष्यमा अल्लारे हुनुको नाताले जाँड रक्सि नि खान्थ्यौँ । रातैभरि रमाइलो गथ्यौँ । समिक्षामा सबैभन्दा धेरै स्याबासी मै पाउँथेँ । सतिसालेमा ९ कक्षा पढ्दा नै गाउँमा साहित्य संगालो मासिक भित्ते पत्रिका पनि निकाल्थ्यौँ । गुञ्जन रेडियो श्रोता क्लब खोलेर याङ्शिला सतिसालेको नाम रेडियो, एफ.एम.हरुमा जताततै गुन्जाउने काम पनि गरियो । यी गतिविधिले मलाई लेखनमा ठुलो टेवा दियो । आज पनि त्यो बेलाका सहकर्मीहरु तेजकुमार राई, लोक बहादुर मगर, बृता माञ्जी, राकेश राई, जोसना राई, जय प्रसाद राई, भुपाल राई, गणेश मगर, मैया राई, प्रकाश दर्लामी, साबित्री राई, खेमराज थापा, चिनो सुब्बा, रन्जित लिम्बु, तिर्थ माया राई, दिनेश राईहरु खुब सम्झने गर्छु । अघि पनि भनि सकेँ यी विगतहरुसँगै म उभिएको धरातल (माटो) मेरो लेखनको प्रेरणाको श्रोत हो ।

३) तपाइ बिशेष गरेर कस्तो किसिमको कविता लेख्न रुचाउनु हुन्छ ? किन ? आफैले लेखेको हरेक लेखसँग सन्तुष्ट हुनुहुन्छ ?


अब आफुले आफैलाई म यस्तो लेख्छु भन्दै दावी गर्न त आफ्नो विज्ञापन गरे जस्तो हुन्छ । तर मैले यति चाहीँ भन्नै पर्छ सीमान्तकृत, किनारीकृत र जो आफ्नो अस्तित्वको निम्ति संघर्ष गरिरहेका छन् उनीहरुको पक्षमा लेख्न खुब आनन्द लाग्छ ।
जो कोही लेखक पनि आफ्नो लेखनदेखि सन्तुष्ट सायदै होलान् र नै अब्बल कविता लेखिएको हुनुपर्छ । आफ्नो एउटा कविताबाटै सन्तुष्ट हुने भएदेखि गोपाल प्रसाद रिमालको ‘आमाको सपना’ कविता नआउन सक्थ्यो होला, सरुभक्तको ‘पागल बस्ती’ आउन्नथ्यो होला । भुपीको ‘सहिदको सम्झनामा ‘ कविता नआउन सक्थ्यो होला । त्यस्तै ‘हेत्छाकोप्पा’ आफैमा सफल उपन्यास हो नि त्यस मै सन्तुष्ट भएको भए राजन मुकारुङको ‘दमिनी भिर’ आउँथेन होला । अन्य कविता मै सन्तोक गरेको श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ कविता नआउन पनि सक्थ्यो कि ? यसर्थ म नि यहाँभन्दा पर रहने कुरै भएन । म त अझ आफुले लेखेको सन्तोषजनक छ की छैन भन्ने ठाउँमै पुगेको छैन । त्यसैले अहिले मेरो क्षमताले भ्याएसम्म लेख्ने र पढ्ने हो । म स्वयमको लेखनबाट सन्तुष्ट छु कि छैन भन्ने कुरा चाहीँ भविष्यले मापन गर्ला ।

४) तपाइको पहिलो कृति ’’ घायल बस्ती ’’ कविता संग्रह बजारमा आएको धेरै भयो ? दोश्रो कृति कहिले आँउछ ? अरु नै विधाबाट आँउछ कि कविता संग्रह नै आउँछ ?
यो चाहीँ मैले सबैभन्दा धेरै सामना गरेको प्रश्न हो । जो आज पनि दोहोरियो । कृतिको कुराले फेरि एक पल्ट झस्कायो । आफ्नो कवितालाई आफु पाठक भएर हेर्दा अपूर्ण जस्तो लाग्छ । त्यही भएर अर्को कृति आउन सकेको छैन । लेख्ने क्रम चाहीँ निरन्तर छ । हेरौँ आगामी दिनले के भन्छ । जरुर कविता कृतिकै निम्ति प्रयासरत छु म ।

५) विश्व साहित्य जगतमा नेपाली साहित्यको उपस्थिति खासै छैन , भन्छ । तपाई चाँहि विश्व साहित्य जगतमा नेपालि साहित्यको उपस्थिति कतिको पाउनु हुन्छ ?

यो मभन्दा धेरै अग्लो प्रश्न हो । यो प्रश्नको उत्तर दिन सक्षम हुन मैले धेरै अध्ययन गर्नु पर्छ । आफुले सामान्य  भएरै भन्नुपर्दा सामान्य लाग्छ । तर त्योसँगै एउटा जोड्नै मन लागेको कुराचाहीँ नेपाली लेखकहरु आफ्नो कृति विश्व बजारमा पुगे लगत्तै रोयल्टी खोज्ने । अनावश्यक अपेक्षा गर्ने । ताल पर्यो भने विवादित नै बनिहाल्ने यो कारण हामीले अपेक्षा गरे जति विश्व बजारमा नेपाली लेखकहरु जम्न नसकेको हो की भन्ने लाग्छ । विश्व बजार त सिस्टमले चलेको हुन्छ । यहाँ जस्तो कसैको स्तुती गान गाएर वा हनुमान भएर दमदार भइन्छ भन्ने कुरै आउँदैन ।

६) आजभोलि कविहरुले वाद÷ धार मा रहेर सिर्जना गरिरहेको छ भन्छ नि ? तपाई चाँहि कुन वादमा रहेर सिर्जना गर्नु हुन्छ ?

कवि लेखकहरु प्राय वाद÷धार र विचारभन्दा पर रहन सक्दैन । यो त आजभोलि मात्रै हैन पहिले पनि थियो नि । तर हिजोको दिनमा चाहीँ फरक विचारलाई फक्रनै दिइएन । २०४६ सालको आन्दोलन दश वर्षे जनयुद्ध हुँदै ६२÷६३ सालको दोश्रो जन आन्दोलनको उपलब्धीले गर्दा त हो बागी विचारहरुले प्रश्रय पाएको । त्यसैले मलाई लाग्छ कवि लेखकहरुसँग आ– आफ्नो विचार त जरुर हुन्छ तर फरक विचारलाई कसरी स्वीकार गर्ने या त नगर्ने त्यसले चाहीँ ठुलो अर्थ राख्छ भन्ने लाग्छ । माथि भने जस्तै जो अस्तित्वको निम्ति संघर्षरत छ ? आफ्नो पहिचनाको निम्ति निरन्तर कलम चलाइरहेका छन् , दबिएका वा दबाइएका आवाजहरुका निम्ति र लेखिन बाँकी कुराहरुमा कलम चलाउँदा म कुन वादमा पर्छु ? म त्यही वादमा रहेर सिर्जना गर्छु भन्दा यो प्रश्नले न्याय पाउला कि ?

७) नेपाली साहित्यमा भनौ अझ कविता बिधामा कस्तो कविता÷ साहित्य लेखिएको छैन ? अब नेपाली साहित्य÷ कवितामा के लेखिनु पर्छ ?

मेरो निम्ति आजसम्म कै सबैभन्दा गहकिलो प्रश्न हो यो । नेपाली साहित्यमा लेखिन बाँकी थुप्रै छन् । नेपाली समाजको विभिन्नतालाई केन्द्रमा राखेर कविता लेखिएकै छैन । ती विभिन्नताको अध्ययन गरेर कविता लेख्नु अबको लेखन हो । जस्तै हिमाली जनजीवनका कविता, थारु÷मुसहर जनजीवनका कविता, कर्णालीका कविता, आवाज विहिनहरुको आवाज, नेपालका विभिन्न जनजातिका कविता वा साहित्य आदि पर्याप्त अध्ययन, खोज गरेर साहित्य लेखिएको छैन । अब गम्भीर भएर यतातिर ध्यान दिनु आवश्यक छ । लेखिन बाँकी विषयवस्तु लेखि टोपलिएको त छ तर औपचारिकता पूरा गर्न मात्रै । एउटा उदाहरण नै हेरौँ न खुवालुङको बारेमा भर्खर त लेखिदैछ । किराती मुन्दुममा आइरहने खुवालुङको बारेमा त भर्खर लेख्न सुरसार हुँदैछ भने लेखिन बाँकी त्यस्ता गौण पाटो कति होला ? तिम्बु पोखरी, मुकुम्लुमको बारेमा लेखनमा उठान त गरिँदैछ । तर त्यो अपुग छ र नै बारम्बार ती नामहरु अतिक्रमणमा परिरहन्छन्,  नियोजित रुपमा पारिन्छन्  । हाम्रो भुगोल, पहिचान र मिथकहरुलाई संरक्षण गरेर राष्ट्रलाई समृद्ध बनाउनुको साटो राज्य चाहीँ उल्टै ती मौलिकताहरुलाई नामेट पार्न चाहन्छ । सरकारको नितिमा एक्कासी ताप्लेजुङको सुकेटार विमानस्थल अब रविन्द्र अधिकारी विमानस्थल, तेह्रथुमको चुहानडाँडा विमान स्थललाई आङ्  छिरिङ् विमान स्थल बनाइनेछ भन्दै घोषणा गरिन्छ । रविन्द्र अधिकारी विमान स्थल र आङ् छिरिङ् विमान स्थल बनाइनु त्यहाँको स्थानीयताको कदर हो त ?, त्यहाँको मौलिकता हो त ? ' भलायोटारहरु भण्डारी टार भैसक्यो , सानो सम्बोधनसम्म नगरी षडानन्द नगरपालिका बनाइन्छ । षडानन्द बनाइयो भनेर आपत्ति हैन षडानन्द आफैमा ज्योती हो त्यो हामी बुझाछौँ नि तर षडानन्दसँगै दिङ्लालाई थोरै सम्बेधन गर्दा कसको के जान्थ्यो ? आफ्नो अस्तित्व संरक्षण गर्दै गर्दा अर्काको अस्तित्व नामेट पार्नु भएन नि । यस्तै हामीले कुनै विषयमा फरक ढंगले नि लेख्ने हिम्मत गर्नु पर्यो । रामको नजरले रावणलाई र रावणको नजरले रामलाई पढ्ने हिम्मत आाजसम्म गर्यौँ त ? यी दुवैको गुण दोषमाथि छलफल गर्ने हिम्मत किन गर्दैनौँ ? कतिलाई अनौठो लाग्ला यो दुनियाँमा रावणको पुजा गर्ने समुदाय पनि छ । यसको हेक्का राख्नु पर्छ हामीले । अस्ति भर्खरै हा कवि मुकुन्द प्रयासको 'प्रेमी अर्थात हनुमान कविताले चौतर्फी चर्चा पायो । हामीले हनुमानलाई  त्यो दृष्टिकोणले  हेर्यौँ त ? यसबारे वहस हुनु जरुरी छ ।  यी र यस्ता कुराहरु लेखिन बाँकी छ । अनि मात्र एउटा कवि वा लेखकको धर्म निर्वाह गरेको ठहरिन्छ । नत्र त उही कराए गीतै हो, उफ्रिए नाचै हो भने जस्तो मात्र हुन्छ, जसको कुनै तुक छैन ।

८) वर्तमान साहित्यसँग सन्तुष्ट हुनुहुन्छ ? पछिल्लो समय बजारमा बिक्ने साहित्य लेखन हुन्छ भन्छ नि ?

सन्तुष्ट असन्तुष्ट त मेरो वहसभन्दा अलि पर नै छ हगि (ह ह ह...) । यति चाहीँ हो केही कविता पढ्दा यस्तो कविता लेख्न सके भन्ने जलन चाहीँ जरुर हुन्छ । वर्तमानको लेखनमा नयाँ नयाँ विषयहरुमाथि कलम चलाउन थालिएको छ । अब्बल साहित्य लेखनहरु भइरहेका छन् । भने अर्को तर्फ चाहीँ बहुरङ्गी समाजको  धुमिल स्केचसम्म देखिन थालेको छ । यति हुनु भनेको पनि बिहानीले दिनको संकेतसम्म गरेको चाहीँ हो । कृतिगत हिसाबले र व्यवसायिक रुपले हेर्ने हो भने  बजारमा बिक्ने लेखन हुनु त राम्रो नै हो तर त्यसो भन्दै गर्दा लेखनको मर्म र वजन चाहीँ कता छ त्यसलाई ख्याल गर्दा उत्तम होला भन्ने लाग्छ  ।  

९) जीवन र साहित्यको सम्बन्ध कस्तो पाउनु हुन्छ ? तपाइको बुझाइ के छ ? र कसरी लिनुहुन्छ ?

जीवन र साहित्य फरक रहनै सक्दैन । कतै न कतै, कहीँ न कहीँ जनजीवन र साहित्य नजिक रहने नै हो । आखिर साहित्यमा लेखिने त जीवनकौ विविध आयाम र भोगाइ नै त हो । यो मानेमा यी दुईको सम्बन्ध जरुर छ भन्ने लाग्छ । जीवन र साहित्यको सम्बन्ध अन्योन्याश्रित भएर नै कृष्ण सुब्बा अधिकारीले 'मकैको  खेती', देवकोटाले 'मुनामदन'',  गोर्कीले 'आमा', रविन्द्रनाथ ठाकुरले 'मालिनी' लि सियान तानले  'चम्किलो रातो तारा' जस्ता अमर कृतिहरु लेखेको हुनु पर्छ । जसलाई आफ्नो जीवन भोगाईसँग मेल खाएर नै ती कृतिहरु मन पराइएका छन् र उत्कृष्ट मानिएका छन् । त्यो जीवन र साहित्यको सम्बन्ध हुन्थेन भने त्यस्ता कृति पक्कै लेखिने थिएन होला । यसमा बुझाई फेरि आफ्नो हो ।

१०) नेपालि साहित्य कुन बिधा बढि समृध्द छ जस्तो लाग्छ ? किन त्यस्तो भएको होला ?

प्राय नेपाली साहित्यले साहित्य भन्ने बित्तिकै कविता मान्यता बोक्ने गर्दछ÷गथ्र्यो । तर ती सोच र मान्यताहरुमा फेर बदल हुन थालेको छ । समृद्धको हिसाबले यो त्यो विधा भन्ने त कुरा आउँदैन। विधाहरु आ– आफ्नो ठाउँमा आफै नै समृद्ध छ  तर पनि कवितालाई जुन विशिष्ठताले हेरिन्छ बजारले चाहीँ पछिल्लो समय आख्यान मागेको पाइन्छ । बजारिकरणको हिसाबमा नि आख्यान सफल भएको पाइन्छ । 

सायद कविता अलि भाष्य हिसाबमा, बिम्बको हिसाबले आलंकारिक हिसाबले अलि जटिल भएकोले त्यस्तो भएको होला । आख्यान सरल र व्याख्यात्मक ढंगले लेखिने भएकोले पाठकहरु आख्यानतर्फ आकर्षित भएको हुन सक्छ । यसको मतलब अन्य विधा चाहीँ समृद्ध छैन भन्ने हैन । तुलनात्मकको हिसाबले मात्र भन्न खोजेको हुँ मैले ।

११) र अन्त्यमा नयाँ आउने लेखक कविहरुलाई तपाईको अनुभमा केहि टिप्स सल्लाह सुझाव ?

जहिले आए नि जसरी आए नि एउटा सर्जकले सिर्जना गर्ने हो । मैले यस्तै उस्तै भन्ने समय त आइसकेको छैन । मसँग त्यत्रो के के न अनुभव नि छैन । यति हो म सिर्जनालाई माया गर्ने मान्छे हुँ । यहाँले केही भनिदिनुस् भने पछि भन्नै कर लाग्छ मलाई( ह ह ह) । पहिलो कुरो त राम्रो सर्जक बन्छु भन्नको लागि राम्रो पाठक हुनु जरुरी छ भन्ने लाग्छ । जबसम्म अध्ययनको दायरा फराकिलो पारिदैन तबसम्म हामीमा लेखन शक्ति बढ्दै बढ्दैन । धेरै त भन्ने मेरो हैसियत पुग्दैन तर युग पाठकको 'माङ्गेना' पढनुस् । तपाईले सदियौँदेखि पालेको मुल्य र मान्यता भत्काइदिन्छ ।  अध्ययनले कैयौँ त्यस्ता भ्रमहरु भत्काइदिन्छ । त्यसर्थ हामीले अध्ययन नगरी सुख्खै छैन । अर्को कुरा लोकप्रियताको पछि ज्यादा नदौडनुस् । यसले तपाईले टेकेको धरातल भत्काइदिन सक्छ । अहिले म केही केही सर्जकहरु बढी नै सेलीब्रेटी बन्न खोजेको देख्छु । हुन त त्यो उनको खुबी होला त्यो 'माआफ्नो ठाउँमा छ । तर कवि भन्दैमा एकै दिनमा भात खान छाडी छाडी सय, दुई सय कविता सुनेको कल्पना गर्नुस् त । हो सस्तो लोकप्रियताले चुर्लुम्मै डुबाउन सक्छ । यसबाट होसियार हुनु पर्छ । अर्को कुरा चाहीँ हामी बिना साधना आजको भोलि मञ्च खोज्छौँ । पहिले साधनाले पपिक्व हुनुहोस् तपाईले मञ्च हैन मञ्च तपाईलाई धुइपताल खोज्दै आइपुग्छ । कवि लेखकहरुले समय र समाजको प्रतिनिधित्व पनि गर्न सक्नु पर्छ जस्तो लाग्छ । अहिले सात साल अगाडीको समयको कविता लेखियो भने त्यसको महत्व के रहला र ? बाँकी त हामी भन्दा कैयौँ गुना नव आगन्ुकहरु तगडा हुन्छन् ।

कवि प्रकाश दिप्साली राईको एक कविता

झण्डा र झोला

जब ,
मन मस्तिष्कमा विवेकले
साम्राज्य जमाउने थाल्यो
तब हजुरले झण्डा र झोला
मेरो काँधमा थमाउनु भा हो ।

त्यो बेला
म आफ्नै परिचय खोज्दैथिएँ,
अाँधो, हरिल्वाँठ, गोबर गणेश
यस्तै यस्तै थिए चिनारी
त्यही बेला
अनगिन्ती सपनाको बिस्कुन फिजाउँदै
स्विकारेको हुँ मैले
दर्शन र सिद्धान्तको ठेलीसङ्गै
पर्चा र आश्वासनले भरिएको झोलीतुम्बीहरु ।

मधुरो सम्झना छ
सो बेलाको हजुरको आश्वासन –
“तिम्रो पीडा मैले बुझेको छु
यो झोला र झण्डालाई मन्त्र सम्झनु
जो पड्काउदा संसार हल्लिने छ
जितिने छ सदियौ देखिको लडाइँ ।”

अवोध झैँ “हुन्छ”को मुन्टो मात्र हल्लाइरहेँ ।

हजुरको इशारामा चलेँ
लडेँ लडाइँ , पड्काएँ मिसाइल
र जित्यौँ लडाइँ ।

लाग्यो
अब मेरो आवाज काठमाडौमा गर्जनेछ
यो बाटो, माटो र पाटोको न्वारान
मै गर्न पाउनेछु ।

बिडम्बना त्यसो भएन
बरु सहमती असहमती , उद्घाटन र समापनका
दौड्धुपसङ्गै मलाई
बिस्तारै…..गलाउन थाल्नु भो
र कुनै दिन झोलाभरी दिनुभएको सिद्धान्त र दर्शनहरु
के के बहानामा फिर्ता लिनु भो ।
अब त बिना हतियारको सिपाही झैँ भा छु ।

सदियौँको समागमपछी
देशले यो बेला पुर्व मेचीदेखि कालीसम्म
नामे, बेनामे सन्तानहरु जन्माएको छ ,
आफ्नो नाम खोज्दै
शङ्का र अन्यौलमा नवजात शिशु
बिराटनगरको शैयामा छटपटाईरहेको छ
उद्दार गर्नु मेरो धर्म, कर्म हो
तर, महोदयले हत्केलामा थमाउनु भएको
झण्डा र झोलाले तगारो लगाइदिएको छ ।

तर अब
यो छट्पटी लाचार भएर ट्वाल्ल परेर हेर्न सक्दिन
जुग जुगदेखी यसरी नै आफन्त गुमाएको छु
ती अबोध सेहेँहरुको सम्झना मै भए नि
मैले पुरुषार्थ ओकल्ने बेला आएको छ ।

महोदय
हजुरको यो रित्तो झन्डा र झोला
मलाई निल्नु न ओकल्नु भाछ
बरु झोलाको गोठालो हुनुको साटो
केही थान सुन्दर कविता लेख्न पाएको भए
बेस हुन्थेछ ।

आज उप्रान्त हजुरसामु मेरो कुनै जिज्ञासा हुनेछैन
र हजुरलाई मेरो अन्तिम सोधनी छ –
“यो झण्डा र झोला
हजुरकै निवास सिंहदरबारमा पठाउँ कि, या त
बिराटनगर आसपासकै मुर्दाघाटमा
खुशीका साथ दाहसंस्कार गरौं ?”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x