धरान । धरान खानेपानी व्यवस्थापन बोर्डले नेपाल खानेपानी संस्थानको बिल काउण्टर आज देखि जिम्मा लिएको छ ।
निकै लामो समय देखि खानेपानी संस्थान र धरान खानेपानी व्यवस्थापन बोर्ड विच एकले अर्कालाई आरोप प्रत्यारोप लगाउदा खानेपानी समस्या समाधानमा समस्या देखिदै आएकोमा आज देखि संस्थानको विल काउण्टर जिम्मा लिनुको साथै बोर्डको अध्यक्षको हैसियतले मेयर तिलक राईले संस्थानमा पुगेर कर्मचारीहरुसंग छलफल समेत गरेका छन् ।
धरानको खानेपानी समस्यालाई अव धरान खानेपानी वोर्डले जिम्मेवारी लिने लगायतको संस्थानका प्रमुख रामकुमार श्रेष्ठ र मेयर तिलक राई विच दुईपक्षिय सहमति भएको बोर्डका सदस्य श्याम पोखरेलले बताए ।
पोखरेलका अनुसार नेपाल खानेपानी संस्थानको सम्पुर्ण कर्मचारी अव धरान खानेपानी व्यवस्थापन बोर्डको मातहतबाट संचालन हुनेछ । आयोजनाको अहिले परिक्षण काल भएकोले सम्पुर्ण आयोजना जिम्मा दिन अझै पनि ८ महिना बाकी रहेको भन्दै सदस्य पोखरेलले भने अव खानेपानीमा देखिएको समस्या समाधानको काम बोर्ड मातहतबाट हुनेछ । धरानको खानेपानी समस्या यही बर्ष नभए पनि अर्काे बर्षको सुख्खा याम सम्ममा समाधान भईसक्ने पनि बताईएको छ ।
आठौं नगर सभाको उदघाटन समारोहमा संस्थान र बोर्ड मर्ज हुनुपर्ने भन्दै विरोध भएपछि फागुन २१ गते सम्म नगर सभा स्थगित गरिएको थियो । नगरसभा सुचारु हुनु पहिलेनै संस्थान र बोर्ड मर्ज हुनुपर्ने भनिएकोमा पहिलो चरणमा संस्थानको विल काउण्टर बोर्डले जिम्मा लिएको हो । अव थप पक्रिया अघि बढदै जाने बताईएको छ ।