धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई भेटेर धरान नागरिक दबाव सञ्जालले ध्यानाकर्षणपत्र बुझाएको छ । संजालले प्रतिष्ठानबाटै अभियान थाल्ने भन्दै आज प्रतिष्ठानका पदाधिकारी भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझाएपछि केही समय छलफल समेत चलेको थियो ।


प्रतिष्ठानको विद्यमान विकृति, विसंगती, बेथिति अन्त्य र सुधारका लागि भन्दै धरान उपमहानगरपालिकाकाका मेयर, नागरिक दबाव सञ्जाल र राजनीतिक दलका पदाधिकारीहरु प्रतिष्ठान पुगेका थिए । धरान उपमहानगरपालिकाका मेयर तिलक राई, धरान नागरिक दबाव सञ्जाललगायतको टोली त्यहाँ पुगेर ज्ञापनपत्र बुझाएको हो । तत्कालको जटिल समस्या बीपी प्रतिष्ठान नै रहेको जनाउँदै सञ्जाल त्यहाँ पुगेको हो ।
त्यहाँ पुगेर सञ्जालका पदाधिकारीले जनताको गुनासो बढ्दै, पैसाको चलखेल हुने गरेको गुनासो बढ्दै गएको, नेतृत्वबीचको टकराव, सेवा चुस्तदुरुस्त नभएको, कमिसनको कारणले मेसिन गुणस्तरहीन खरिद गरिनु, प्रतिष्ठानको साख गिराएर अन्य अस्पताललाई अग्ल्याउने प्रयास, प्रतिष्ठानमा अहिले कोभिड अस्पतालको हालत लथालिङ्ग, इमरजेन्सी, आइसियु, अक्सिजनलगायतका सेवामा लापरवाही, प्रतिष्ठानमा कोरोनाका बिरामीले सहज भर्ना हुन नसकेको, १०० बेडको अस्पतालको व्यवस्था गर्ने भनिएपनि ७७ बेड मात्र नभएको अवस्था, बिरामी पुगिहालेपनि लामो समय नहेर्ने, कुर्दाकुर्दै जीवन जाने अवस्था, अस्पतालमै लडेर बिरामीको मृत्यु हुनु गरेको, उपचारका लागि बाहिर (विराटनगर वा बिर्तामोड) पुग्नुपर्ने, मेसिनहरु कहिल्यै चुस्तदुरुस्त नहुने, अक्सिजन ग्यासको अभाव, भेन्टिलेटरको अभाव, आइसियुको दुरास्वस्था र चरम लापरवाही देखिएको भन्दै ध्यानाकर्षण गराउनुका साथै यसै विषयमा प्रश्न समेत तेस्याइएको थियो ।


यस्तै, कोरोना अस्पतालमा अस्तव्यस्तता, मर्मतका नाममा धेरै खर्च गर्नु, बेरुजु फच्र्यौट नहुनु, फार्मेसी सञ्चालनमा लापरवाही, रिपोर्ट विश्वासिलो नआउनु, बाहिर जँचाउन बिरामीलाई प्रेरित गर्नु, नियम मिचेर भुक्तानी हुनु, टेण्डर रद्द, पर्दापछाडि लेनदेन हुनु, किनेर ल्याइएका मेसिन थन्क्याएर काम नलाग्ने बनाइनु, मेसिन बिग्रिरहनु, इमरजेन्सी सेवा चुस्तदुरुस्त नहुनु आदिबारे पनि प्रश्न गरिएको थियो ।
व्यवस्थापनको चरम लापरवाहीको जनगुनासो आएको सञ्जालले जनाएको छ । उपचार सेवा र सुविधा दिनुपर्ने यस्तो संस्था आफैं भ्रष्टाचार, अनियमिता र अर्बौको बेरुजुको शिकार रहेको र भ्रष्टाचार, कमिसन, दलाली र विचौलियाको दबदबाले संस्था रुग्न बन्दै गएको सञ्जालको ठहर छ ।
दबाव सञ्जालले तत्कालै सुधारका लागि भन्दै अधिकारसम्पन्न अनुगमन समिति गठन गर्न माग गरेको छ । यस्तै, वर्तमान अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, सेवा सुचारु हुन नसकेका उपकरण, मेसिन मर्मत सम्भार गरी सुचारु हुनुपर्ने, अक्सिजन प्लान्ट सञ्चालन गर्दै सहज अक्सिजनको व्यवस्था गर्नुपर्ने, सुलभ पहुँचको व्यवस्था, कोभिड अस्पतालको गुणस्तरीय सेवा दिइनुपर्ने, नागरिकले स्वास्थ्य विमाको उपयोग कोभिड हकमा पनि गर्न पाउनुपर्ने, इमरजेन्सी प्रभावकारी बनाइनुपर्ने, फार्मेसी व्यवस्थित हुनुपर्ने, मातृशिशु वार्डमा बेड थप गरिनुपर्ने, अनियमितताको निर्मूलीकरणको प्रतिबद्धता जनाइनुपर्नेलगायतको माग पनि राखेको छ । यी सुधारका लागि एक हप्ताको अल्टिमेटम दिइएको र सुधार नभए अर्को चरणको कार्यक्रम ल्याइने संयोजक प्रा.डा. शर्माले जानकारी दिए । ‘प्रतिष्ठान धरानबासीको हो भन्ने ध्येयले लागेका हौं’, उनले भने, ‘यस्तो सुधार होस् भनेर हामीले सातदिनको अल्टिमेटम दिएका छौं, सुधार नभए अर्को चरणको कार्यक्रम लिएर प्रतिष्ठान पुग्नेछौं ।’
उता प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आफूहरुले छलछाम नगरीकन काम गर्दै आएको बताउँदै अबका दिनमा केही कमी कमजोर भए सुधार्दै जाने प्रतिबद्धता जनाए । ‘हामीहरुले केही छलछाम गरेका छैनौं, सुधारका लागि तपाईहरु लाग्नुभएको छ’, उनले भने, ‘मानिस हो, केही कमीकमजोरी हुन्छ, त्यसलाई सुधार्दै जानेछौं ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x