धरान, १२ कार्तिक ।  सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरि सार्वजनिक गरेको छ । नयाँ कर्पोरेट नाम मेटा(Meta) राखिएकोछ। कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको जनाइएकोछ।नाम परिवर्तनसँगै फेसबुकले नयाँ चिह्न (लोगो) पनि सार्वजनिक गरेको छ जस अन्तरगत बुढी औंला उठाएको अर्थात् थम्ब्स् अप वाला लाइकको लोगोलाई निलो इन्फिनिटी आकारको लोगोले विस्थापित गर्नेछ ।

मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । मेटाभर्स भनेको एउटा यस्तो अनलाइन संसार हो जहाँ मानिसहरु भर्चुअल रियालिटी हेडसेट लगाएर भर्चुअल वातावरणमै गेम खेल्न, काम गर्न तथा सञ्चार गर्न सक्दछन् ।

कम्पनीले हाल गरिरहेका कामहरु नयाँ नामले राम्रोसँग समेट्ने जनाइएकोछ। हाल फेसबुकको उपस्थिति सोसल मिडिया प्लाटफर्मसँगै भर्चुअल रियालिटी लगायतका क्षेत्रमा पनि फैलिएको छ ।

फेसबुक कम्पनीको नयाँ नाम परिवर्तन भएर मेटा राखिएको भएपनि यसले सोसल मिडिया प्लाटफर्महरु फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको नामलाई असर नगर्ने बताइएकोछ। यी प्लाटफर्महरुको मातृ कम्पनीको मात्र नाम परिवर्तन भएर अबदेखि मेटा रहनेछ ।

नाम घोषणाको भर्चुअल कार्यक्रम जुकरबर्गले भनेका छन्–” समयसँगै मलाई आशा छ हामीलाई यसलाई एक मेटाभर्स कम्पनीको रुपमा देख्नेछौँ । हामीले जे बनाउन जाँदैछौँ त्यसमै आफ्नो पहिचान र काम अडियोस् भन्ने म चाहन्छु।”

हाल कम्पनीले दुई भिन्न क्षेत्रमा काम गरिरहेको र त्यसमध्ये एउटा सोसल मिडिया एपहरुको परिवार र अर्को भविष्यमा प्रविधिहरुको प्लाटफर्म रहेको जुकरबर्गको भनाइ रहेकोछ । नयाँ नामसँगै प्रयोगकर्ताहरुले भविष्यमा कम्पनीका अन्य सेवाहरुको प्रयोग गर्दा पनि फेसबुक नै प्रयोग गर्नुपर्ने बाध्यता नरहने जुकरबर्गले जनाएका छन् ।सन् २०१५ मा गुगलले पनि आफ्नो कम्पनीको पुनर्संरचना गर्दै मातृ कम्पनीको नाम ‘अल्फाबेट’ राखेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x