धरान । धरान उपमहानगरका नगर प्रमुख तिलक राईले विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहि अवकाश प्राप्त गर्नु भएका चन्द्र प्रसाद श्रेष्ठको नाममा पुरस्कार कोष स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

शुक्रबार नेपाल शिक्षक संघ धरानको तेस्रो नगर प्रतिनिधिसभाका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख राईले चन्द्र प्रसाद श्रेष्ठको सम्मानमा एक लाख रुपैयाँको पुरस्कार कोष खडा गर्दिने घोषना गर्नु भएको हो । नगर प्रमुख राईले चन्द्र सरलाई सम्मान गर्नु पाउँदा अत्यन्तै गर्व लागेको बताउनुभयो । ‘शिक्षक संघमा जति सम्मान्नीय व्यक्तित्व हुनुहुन्छ चन्द्र दाई, हाम्रो पार्टीमा र पत्रकारिता क्षेत्रमा त्यति नै सम्मानीत व्यक्तित्व हुनुहुन्छ गिरीराज आचार्य दाई,’ उहाँले भन्नुभयो । नगर प्रमुख राईले गिरिराज आचार्यको सम्मानमा केही समय अगाडी मात्र १ लाख ५० हजार रुपैयाँको पत्रकारिता पुरस्कार कोष स्थापना गरेको सुनाउनुभयो । ‘त्यो कोष जुन नगर प्रमुखको तलब भत्ता आउँछ, त्यो पैसाँ मैले पार्टीको कोषमा जम्मा गर्छु, मैले तलब भत्ता लिन्न, पैसाँ पार्टीको कोषमा जान्छ,’ नगर प्रमुख राईले भन्नुभयो, ‘शिक्षक संघले राखोस् पुरस्कार, १ लाख रुपैयाँ म त्यो कोषबाट लगाइदिन्छु, चन्द्र दाईको नाममा पुरस्कार कोष खोल्नुस, हरेक वर्ष एक जना होनाहार शिक्षकलाई पुरस्कृत गर्नुस, चन्द्र दाईको इतिहास रहन्छ, अमर पनि हुन्छ ।’ नगर प्रमुख राईले शिक्षक संघमा एकता हुन जरुरी रहेको बताउँदै अबको शिक्षक संघ आत्मविश्वासका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । नगर शिक्षा योजना बनाउने सन्दर्भमा, नगरको शैक्षिक कार्यक्रम गर्ने सन्दर्भमा, नगरको गतिविधिहरुको सम्बन्धमा निरन्तर छलफल गर्न जरुरी रहेको उहाँको भनाई थियो । नगर प्रमुख राईका अनुसार स्थानीय सरकार र शिक्षकहरु बीच डेटु डे छलफल गर्न आवश्यक छ । साथै अहिले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको उहाँको भनाई थियो । नगर प्रमुख राईले शिक्षा जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले संघीय शिक्षा ऐन कार्यान्वयन गरी बाल शिक्षक कर्मचारी, राहत अनुदान, उच्च मावि शिक्षक, करारमा कार्यरत शिक्षकहरुको समस्या राज्यले हल गर्नुपर्ने धारण व्यक्त गरेका थिए । नेपाल शिक्षक संघ धरानका अध्यक्ष आश बहादुर राईले शिक्षा जस्तो विषयलाई राज्यले गम्भीरता पूर्वक लिनुपर्नेमा जोड दिनु भयो ।

को हुन् चन्द्र प्रसाद श्रेष्ठ ?

हाल ८४ वर्ष पुग्नु भएका चन्द्र प्रसाद श्रेष्ठ वि. सं. १९९३ जेष्ठ १ गते धरानमा पिता गणेश प्रसाद श्रेष्ठ र माता नित्य कुमारी श्रेष्ठको कोखबाट जन्मनु भएको हो । हाल उहाँ धरान १२ निवासी हुनुहुन्छ । उहाँले त्रि.वि. बाट स्नातक गर्नुभएको हो ।

२००५ सालमा धरानका वरिष्ठ विद्धान समाज सेवी प्रतिष्ठीत व्यक्तिहरुबाट पूर्वाञ्चलकै पहिलो सार्वजनिक पुस्तकालय स्थापना भएको र सो पुस्तकालय सञ्चालन समितिको २०१४ सालमा निर्वाचित सचिव भई २०१८ मा धरान उपमहानगरपालिकालाई हस्तान्तरण जो अध्यावधि सञ्चालनमा छ । २०१४ सालमा नै नेपाली कांग्रेसमा प्रवेश भई २०१४ को नेपाली कांग्रेस द्वारा सत्याग्रह आन्दोलनमा सकृय धरानमा नेपाली कांग्रेस असंगठानिक संस्थालाई विधिवत संगठन गरी सो पार्टीको सचिव भई २०१५ सालको प्रथम आम निर्वाचनमा विजयी गराउन सफल हुनुभयो । २०२८,२९ मा नेपाल रेडक्रस सोसाईटी सुनसरीको संस्थापक सदस्य एंव कार्य समिति सदस्य हुनु भएको थियो । उक्त नेपाल सोसाईटीमा अक्षय कोष रु एक लाख सहयोग प्रदान एंव विशिष्ठ सम्मानित सदस्य पुरस्कार प्रदान गर्नु भएको थियो । २०३५,३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रव्यापी शिक्षक आन्दोलनमा सुनसरीबाट अग्रगामी भूमिका निर्वाह गरी आन्दोलनलाई सफलता हासिल गरेका थिए ।

यस्तै श्री सिद्धी नेवा परिषदमा रु ५ लाखको अक्षयकोष स्थापना, श्री सरस्वती बालआश्रम, धरानमा रु एक लाख पच्चीस हजारको अक्षयकोष स्थापना, श्री पब्लिक मा. वि. मा तुलादान,
श्री शारदा बालिका विध्या धरानमा अक्षयकोष, श्री शदन मा. वि. मा आर्थिक सहयोग, श्री वाचन शिरमणि पं, नारायण प्र. प्रतिष्ठान काठमाडौं ४ मा धाम निर्माणमा आर्थिक सहयोग
सुनसरी मोरङ र धनकुटाका मठमन्दिरहरुमा आर्थिक सहयोग समेत गर्नु भएको छ ।

यस्तै विपि चिन्तन प्रतिष्ठान धरानबाट सम्मानित, सम्यक शिक्षा समूह, नेवार एकता समाजबाट सम्मानित, बाल आश्रम र सिद्धी नेवा परिषदबाट सम्मानित हुनुभएको छ । हाल जेष्ठ नागरिक मिलन केन्द्रमा आवद्ध तथा विभिन्न सामाजिक, धार्मिक, संघ संस्थाहरुमा आवद्ध हुनुहुन्छ । उहाँले २०२४ देखि शारदा बालिकाबाट शिक्षण पेशामा आवद्ध रहि २०५५ मा उमेर हदका कारण निवृत हुनु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap