✒टिपी धमला
गएको मार्च १९/२० देखि नै मलाई हल्का टाउको दुख्ने, घाँटी दुख्ने समस्या थियो । तर मैले त्यसलाई साधारण तरिकाले लिएँ । किनकि अहिले यहाँको मौसम परिवर्तन हुने समय हो । यस्तो साधारण रुघाखोकीमा आत्तिनु हुँदैन भनेर वास्ता गरिनँ । म रोजगारीको शिलशिलामा ११ वर्षदेखि कतारको दोहामा छु । यस्ता समस्या अरुबेला पनि आउँथे । मैले सामान्य ठानेर कम्पनीमै काम गरिरहेँ ।

२२ मार्चसम्म लक्षण ठीक हुने छाँटकाट देखिएन । झन् गाह्रो हुँदै गयो । घाँटी दुख्ने, टाउको घुमाउने, आँखाबाट आँसु बग्ने, शरीर काप्ने, शरीरक आलस्यता हुने, काम गर्न मन नलाग्ने, कसैसँग बोल्न मन नलाग्ने, कोही बोल्यो वा बोलायो भने पनि झर्को लाग्नेजस्ता समस्या आउन थालेपछि यहाँको सरकारी वर्कर हेल्थ युनिटमा गएँ । जचाएँ । डाक्टर ले ३र४ थरिको औषधि दिए । घाँटी दुखाई कम हुनेदेखि ज्वरोको समेत औषधि थियो त्यसमा ।

भोलिपल्ट २३ मार्च को दिन म कम्पनीको काम मा गइनँ । जान सकिनँ । २४ मार्चसम्म पनि मलाइ ठीक भएको थिएन । २० को १९ पनि भएको थिएन । तर पनि म बिस्तारैबिस्तारै काममा गइरहेको थिएँ । किनकि आफ्नो जिम्मेवारीको काम भएपछि मैले धेरै दिन कोठामै बस्न पनि नमिल्ने थियो । काममा गएर पनि मैले केही काम गर्न सकिनँ । जाँगर पनि चलेन ।

मैले काममै ओषधि लिएर गएको थियो । औषधि खाना खानुभन्दा पहिले खानुपर्ने भएकाले चियाबिस्कुटको व्यवस्था मिलाएँ । खान थालेँ । तर त्यो चिया बिस्कुदको कुनै स्वाद आएन । मैले चिया पिउँदै छु या पानी त्यो केही थाहा पाइनँ । उम्लिएको चिया पिउँदा मेरो घाँटी पोलेको पनि थाहा भएन । मेरो घाँटी पुरै लाटो भएको थियो । मेरो अवस्था नाजुक भइरहेको थियो ।

त्यसपछि मलाई गाह्रो हुन थाल्यो । मेरो भारतीय साथी अब्दुल समादले फोन गरे । अहिले कस्तो छ उनले सोधे । मैले चिया बिस्कुट लिएको तर मैले केही स्वाद थाहा नपाएको बताएँ । उनले त्यहीबेला मसँगै काम गर्ने इन्जिनियरलाई कोरोना पोजेटिभ देखिएको कुरा सुनाए । अनि मलाई उनले उसको सम्पर्कमा गएको वा नगएको सोधे ।

म २/३ दिन अगाडि कामको शिलशिलामा इन्जिनियरको गाडी चढेर अर्को प्रोजेक्टसम्म जाने आउने गरेको थिएँ । सँगै ती इन्जिनियर पनि थिए । मैले यो कुरा ती साथीलाई सुनाएपछि उनी डराए । उनले मलाई कोरोना परीक्षण गर्न सुझाए । मेरो मनमा कुरा खेल्न थाल्यो । मसँग काम गर्ने इन्जिनियरसँगै अरु केही क्यूसी इन्जिनियरलाई पनि कोरोना पोजेटिज देखिसकेको थियो । म उनीहरुसँगै कामको शिलशिलामा नजिक हुनुपर्थ्यो ।

मैले तुरुन्तै वर्कर हेल्थ युनिट जाने निर्णय लिएँ । साथीलाई फोन गरेँ । साथीले मलाई कोठासम्म लगेर छाडिदियो । त्यसपछि अर्को ड्राइभर साथीको सहयोगमा हेल्थ युनिट पुगेँ । त्यस बेलासम्म मलाई धेरै गाह्रो भइसकेको थियो । स्वाद नहुने, खाना खान मन नलाग्ने, शरीरका सबैजसो भाग दुख्ने, ज्वरो आउने, आँखा पोल्ने आँसु बग्ने, टाउको दुख्ने, ढाड पोल्ने जस्ता समस्याले म ग्रसित थिएँ ।

हेल्थ युनिट पुगेर डाक्टरलाई भेटेँ तर दुई दिन पहिला मलाई चेक गर्ने डाक्टर थिएनन् । अर्कै अरबी मुलको डाक्टर थिए यसपटक । जानी नजानी अरबी र अङ्ग्रेजी मिसाएर आफ्नो समस्या बताएँ । उनले मेरो स्वाब लिने निर्णय गरेर मलाई स्वाब लिने ठाउँमा पठाए । स्वाब दिएर म कोठामा फर्किएँ ।

डाक्टरले मलाइ भोलिपल्ट काममा नजानका लागि सल्लाह दिएका थिए । उनले सिक लिभ लेटर दिएका थिए । म डाक्टरको सल्लाह अनुसार नै काममा गइनँ । कोठामै बसेँ । दिउँसोको १२ बजेसम्म मलाई धेरै गाह्रो महशुस भएको थियो । लाग्दै थियो, मलाई अब धेरै गाह्रो हुन्छ । तर पनि मैले हिम्मत हारेको थिइनँ । मन दह्रो बनाएको थिएँ । जुनसुकै रोगसँग लड्न आत्मबल दह्रो हुनुपर्छ । १२ बजेपछि भने हल्का केही परिवर्तन आयो मेरो स्वास्थ्यमा । बेलुका ६ बजेतिर मेरो मोबाइलमा कोरोना रिपोर्ट पोजेटिभ आयो । म झसंग भएँ । मनमा चिसो भयो । त्यो बेला म घरमा श्रीमतीसँग फोनमा बोल्दै थिएँ । मैले तुरुन्तै पोजेटिभ रिपोर्टको कुरा सुनाएँ । घरमा पनि तनाब सुरु भयो । मन भक्कानिएर आयो । आँखाबाट आँसुका धारा छुट्यो । मैले फोन कटाएर एक छिन रोएँ । फेरि फोन गरेर घरमा पीर नगर्नु, मलाइ केही हुन्न भनेर सम्झाएँ ।

हाम्रो परिवारको सदस्यामा म नै पहिलो सदस्य थिएँ पोजेटिभ आएको । त्यसैले सबैलाई तनाब भयो । तर मैले चाहिँ रिपोर्ट पोजेटिभ आए पनि धेरै तनाब लिइनँ । आफुले आफुलाइ सम्हाल्ने कोसिस गरेँ । किन कि यो रोग सङ्ग लड्न मनोबल बढाउनु पर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो ।

त्यसपछि मैले आफूलाई कोरोना पोजेटिभ आएको कुरा आफ्नो इन्जिनियर र एचआर अफिसरलाई सुनाएँ । एचआरले क्याम्प इन्चार्जलाई भनेर मलाई एउटा कोठा खाली गरेर होम आइसोलेशनमा राख्ने सल्लाह भयो । मैले पनि हुन्छ भनेँ । मेरो स्वास्थ्यमा केही सुधार भएको जस्तो महसुस गरिरहेको थिएँ । होम आइसोलेशनमा नै बस्न उचित लाग्यो ।

म अलग्गै कोठमा बस्न थालेपछि मलाई भोक त लाग्थ्यो तर खाना निलिँदैन थियो । जबर्जस्ती खाने गर्थेँ । तातो पानी खान्थेँ । फलफूलको ब्यबस्था गरेको थियो कम्पनीले । फलफूल र कागती लगाएर तातो पानी बढी मात्रामा खाने गरेको थिएँ । १४ दिनसम्म मलाई खासै धेरै समस्या आएन । जब म घर परिवारसँग फोनमा बोल्थेँ त्यो बेलाचाहिँ बढी भावुक हुन्थेँ । अनि सास फेर्न गाह्रो हुन्थ्यो । मलाई थाहा भयो कोरोना जित्नलाई हिम्मत र मनोबलको जरुरत हुँदो रहेछ । १४ दिन पुगेपछि यहाँको नियम अनुसार होम आइसोलेसनमा बस्नेको रिपोर्ट आफैँ नेगेटिभ बनाइ दिन्छ । स्वाब परीक्षण गराउनु पर्दैन । मेरो पनि त्यही भयो । १४ दिन पुगेपछि मैले कोरोना जितेँ ।

कोरोना जितेपछि पनि म अरु ३ दिन आराम गरेँ । त्यसपछि भने काममा जान थालेँ । तर शरीरमा अझै पहिलाको जस्तो स्फुर्ती आइसकेको थिएन । काम गर्दा सास बढ्ने समस्या थियो अलि अलि । आफ्नो काम गर्नै पर्यो । अर्काको देशमा आफूले भनेजस्तो नहुने । जसो तसो दिन बित्दै गए । लगभग १ महिनापछि मेरो शरीर अहिले पूर्ण रुपमा स्वस्थ भएको महसुस गर्दैछु ।

✒टिपी धमला / ओखलढुंगा, सिद्धिचरण नगरपालिका ८, सल्लेरी (हालस् दोहा, कतार)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x