-नवराज भट्टराई उर्लाबारी । अझै पनि देशका कतिपय स्थानमा सहज स्वास्थ्य सुविधा उपलब्ध छैन । डोको तथा स्ट्रेचरमा बोकेर टाढासम्म उपचार गर्न तथा प्रसूतिका लागि लैजानु पर्ने बाध्यता छ ।

नजिकै स्वास्थ्य संस्था नहुँदा उपचार नपाएर मृत्यु समेत भएका उदाहरण प्रशस्त छन् ।दुर्गमको त कुरै छोडौं, मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा बिरामीले भनेजस्तो सेवा पाउन सकेका छैनन् । प्रदेश सरकार मातहत रहेको सो अस्पतालको स्तरोन्नति कागजमा मात्र सीमित हुँदा सेवाग्राहीले सहज सेवा सुविधा पाउन नसकेका हुन् ।

५० शैयाको अस्पताल करारका चिकित्सकको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । तर, उर्लाबारीकै अर्को स्वास्थ्य संस्थामा सेवा सुविधा हुँदा पनि सेवा लिन एक जना पनि आएका छैनन् । उर्लाबारी–८ मा रहेको राजघाट स्वास्थ्य चौकीमा दुई वर्षदेखि एक जना महिला पनि प्रसूतिका लागि आएका छैनन् ।

‘वर्थिङका लागि सुविधा सम्पन्न भवन बनेको छ, तालिम प्राप्त स्वास्थ्यकर्मी पनि छन्’ स्वास्थ्य चौकीका इञ्चार्ज सन्दिप नेयोङ भन्छन्, ‘तर एक जनापनि प्रसूतिका लागि आउँदैनन् ।’ राजघाट स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरका लागि भवन निर्माण भएको दुई वर्ष भयो । यो दुई वर्षको अवधिमा प्रसूतिका लागि एक जनापनि नआएको उनले बताए ।साविक राजघाट गाविस (हाल उर्लाबारी वडा नं. ८ र ९) का जनतालाई स्वास्थ्य सेवा दिन स्थापना भएको सो स्वास्थ्य चौकीमा दैनिक औषत ४० जना उपचारका लागि आउने गरेका छन् ।

‘गर्भवती जाँच गर्न पनि आउँछन्’ इञ्चार्ज नेयोङले भने । गत साउनदेखि हालसम्म ९७ गर्भवती महिलाले गर्भ जाँच गराएपनि प्रसूतिका लागि कोही नआएको उनले बताए ।‘स्वास्थ्य चौकीमा नर्मल प्रसूतिको मात्र सुविधा भएकोले शल्यक्रिया गर्नु पर्ने भएमा अन्यत्र लैजानु पर्ने हुन्छ’ उर्लाबारी–८ का कृष्ण गुरागाईँले भने, ‘त्यही भएर बेलैमा उर्लाबारी या दमकका अस्पतालमा लैजाने गरेका छन् ।’ सो क्षेत्रबाट प्रसूतिका लागि उर्लाबारीको गोदावरी र अरनिको अस्पताल तथा दमकका विभिन्न अस्पतालमा लग्ने गरेका छन् ।

उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका अधिकृत रेणुकाप्रसाद काफ्ले सुविधासहितको वर्थिङ सेन्टर र तालिमप्राप्त स्वास्थ्यकर्मी हुँदा समेत प्रसूतिका लागि नआउनु अनौठो भएको बताउँछन् । स्वास्थ्य चौकीमा निःशुल्क सुविधा भएपनि धेरै खर्च गरेर निजी अस्पतालमा प्रसूति गराउने गरेको उनले बताए । सरकारी अस्पतालमा पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएकोले गाउँमै भएको स्वास्थ्य चौकीबाट प्रसूति सेवा लिन सकिने उनको भनाई छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap