धरान । देशको गरिमामय निकाय राष्ट्रपति कार्यालय जसले संविधान र कानुनको संरक्षण समेत गर्दछ सोही निकायले आम नागरिकले नियम संगत रुपमा सूचना माग्दा समेत सूचना दिन ईन्कार गरेपछि नागरिक समाजको तर्फबाट विरोध जनाईएको छ ।
सूचना मागकर्ता सुर्यविनायक, भक्तपुरका शशि विक्रम कार्कीले माग गरेको सूचना राष्ट्रपति कार्यालयको सूचना अधिकारीले नदिएपछि सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपालले सोको विरोध गर्दै आज सोमबार एक प्रेस विज्ञप्ती समेत जारी गरेको छ ।
संजालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएअनुसार मिति २०७८ जेठ ९ गतेमा सूचना मागकर्ता शशि विक्रम कार्की, ठेगाना सुर्य विनायक, भक्तपुरले राष्ट्रपति कार्यालयलाई निवेदन मार्फत सूचना प्राप्त गर्नुपर्ने कारण समेत खुलाई सूचना माग गरेकोमा सो कार्यालयका सूचना अधिकारीले मिति २०७८ जेठ २१ गतेमा सूचनाको हक सम्बन्धी ऐन २०६४ को धारा ७ को उपधारा १ बमोजिम सूचना प्राप्त गर्नुपर्ने कारण सो निवेदनमा स्पष्ट खुलाएको नदेखिएको हुँदा यसमा थप कारवाही गर्न असमर्थ रहेको भन्ने व्यहोराको पत्र उपलब्ध गराएको कुरा सरासर सूचनाको हक सम्बन्धी ऐन २०६४ को मर्म विपरित रहेको जनाएकोछ । यसले आम नागरिकको सूसूचित हुने संवैधानिक मौलिक हकलाई कुण्ठित गरेको समेत जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

संजालले राष्ट्रपति कार्यालयका सूचना अधिकारीको यो कदमले संविधानको धारा २७, सूचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावली २०६५ लाईनै प्रभावित तुल्याएको जनाएकोछ । सूचना माग निवेदनमा निवेदकले स्पष्ट रुपमा ऐनको धारा ७ को उपधारा १ बमोजिमनै “मेरो व्यक्तिगत प्रयोजन तथा सुशासन प्रबद्र्धनको लागि” भन्ने कुरा प्रष्ट रुपमा खुलाउँदा समेत सो कुरालाई ईन्कार गरेको जनाईएकोछ ।

संजालका केन्द्रिय समितिका संयोजक उम्मीद बागचन्द, सहसंयोजक विश्वजीत तिवारी र सदस्य सचिव अजयकुमार साह सहित संजालका सातै वटा प्रदेश समितिका संयोजकहरुको संयुक्त हस्ताक्षर सहितको प्रेस विज्ञप्तीमा राष्ट्रपति कार्यालयको सूचना अधिकारीको यो कदम स्पष्ट रुपमा कानुन सम्मत नरहेको उल्लेख गरेकोछ । संजालले विज्ञप्ती मार्फत सम्बन्धित पक्षहरुले यस प्रति शिघ्र कानुनी कारवाही आगाडी बढाई आम नागरिकको सूसूचित हुने अधिकारलाई सुनिश्ति गर्न समेत जोडदार माग गरेकोछ ।

आजै संजालले राष्ट्रिय सूचना आयोगलाई राष्ट्रपति कार्यालयको यस कदम प्रति यथाशिघ्र कारवाही प्रक्रिया अगाडी बढाउन एक ध्यानाकर्षण पत्र समेत बुझाएको संजालका सदस्य सचिव अजयकुमार साहले जानकारी गराएका छन् । सूचना हकका लागि राष्ट्रिय संजाल नेपाल जिल्ला सञ्जाल सुनसरी बाट पनि सूचना उपलब्ध गराई सूचना अधिकारी लाई कार्यवाही गरियोस भनेर माग गरिएको जिल्ला सञ्जाल संयोजक आशिष राज यादवले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x