माझ गाउँ,मान्बु, गोरखा जिल्लामा जन्मनु  भएका कवि चन्द्र गुरुङ समकालीन नेपाली  साहित्य क्षेत्रको एक सशक्त  कवि हुन । उहाँको पहिलो कविता संग्रह  ”उसको मुटुभित्र देशको नक्सा नै थिएन”  २०६४ मा   प्रकाशन भएको थियो भने दोस्रो  कविता संग्रह  ” माइ फादरस फेस ”  अङ्ग्रेजी भाषामा नेपाल भन्दा बाहिरबाट २०७७ सालमा प्रकाशन भएको छ । कवि गुरुङले  कविता लेखन मात्र नभै भारतीय, अङ्ग्रेजी र अरबी कविहरुका कविता  पनि नेपाली भाषामा अनुवाद गर्नु भएको छ । उनै कवि गुरुङसँग एभरेष्ट डेलिले गरेको कुराकानी प्रस्तुत गरिएको छ : चन्द्र गुरुङ 

१ ) लकडाउनको समय कसरी के  गरेर कटाँउदै  हुनुहुन्छ ? 

  • म कविताको आकासमा रमाउने पंक्षी हूँ । यस लकडाउनमा नयाँ कविताहरू रच्दैछु । केही पुराना कविताहरूको मर्मतसम्भार चल्दैछ । र, थुप्रै कविताहरूको भाषानुवाद पनि गर्दैछु । भन्नै पर्दा म तेस्रो कविताकृतिको तयारी पनि गर्दै छु ।

२ )  लेखन यात्रा कहिले देखि थाल्नु भयो ? के कुराबाट प्रभावित हुनु भयो ? कहाँबाट प्रेरणा पाउनु भयो र साहित्य लेखन तर्फ लाग्नु भयो ? 

  • सानै उमेरदेखि किताबहरूप्रति विशेष आकर्षण रह्यो । किताबलाई कभर लगाएर अलमारीमा सजाएर राख्थेँ । किताबले एकप्रकारको आनन्द दिन्थ्यो । सायद यसरी किताबप्रति माया बढदै गयो । किताब पढने बानीले नै लेखनप्रति रहर जगाएको हुुनुपर्छ । मेरो लागि किताब, मात्रै एक्लोपनको समय बिताउने उपाय नभई, अर्को दुनिया चियाउने झ्याल पनि भयो । सात कक्षामा पढदै गर्दा चङ्गाबारे पहिलो कविता लेखेको थिएँ । स्कूलको अन्तिम दिनमा पनि बिदाई कार्यक्रममा आफैले रचेको कविता सुनाएको याद छ । तर स्कूल छुटेपछि लेख्ने र पढने वातावरण बनेन ।
  • पछि रोजगारको सिलसिलामा देश छोडेर गएँ । त्यसबेला देश र घरपरिवारको याद आइरहने । जसले मलाई फुर्सदमा लेख्न प्रेरित गर्यो । तब मेरो उमेरले तीस नाँघिसकेको थियो ।  यसकारण म सक्रिय लेखनमा ढिलो आएँ । 

 ३ ) तपाइ बिशेष गरेर कस्तो किसिमको कविता लेख्न रुचाउनु हुन्छ ? किन ? आफैले लेखेको हरेक लेखसँग सन्तुष्ट हुनुहुन्छ ? 

  • खासमा सामाजिक र जीवनवादी विषयमा सरल शब्द र गहन भावमा कविता लेख्न मनपराउँछु । यस्ता कविताहरू जसमा मैले बाँचेको समाज र समयको अनुहार छर्लङ्ग देखियोस् । हाम्रो चारैतिर अनेकथरीका विकृति  र विसङ्गतिहरू चुनौती या समस्याका रुपमा उभिएका छन् । यी समस्याहरूको सम्बन्ध कतै न कतै देशको राजनीतिसित गाँसिएको छ । अनुशासनहीन र कुसंस्कारग्रस्त राजनीतिले देशको शासन चलाइरहेको समयमा पाठक र आम जनताले कविताबाट यी समस्याहरूको समाधानको आसा गर्छन् । म कवितामा यही लेख्न चाहन्छु ।
  • आफैले लेखेको हरेक लेखसँग कदापि सन्तुष्ट हुन सकिन्न । देशविदेशतिरका कविताहरू पढछु । थुप्रै कविताहरू बेग्लै स्वाद र विषयमा लेखिएका हुन्छन् । यी रचनाहरूको प्रभावले जीवनदृष्टि फेरिँदै जान सक्छ । कविताबारेको चिन्ता, चिन्तन र विचार पनि फेरिँदै जान्छ । यसकारण कुनै समयमा लेखेको आफ्नै सिर्जनाले पनि सधैँ सन्तुष्टी दिइरहन्छ भन्ने छैन । 

 ४ ) तपाइको दोस्रो कविता संग्रह  माइ फादर फेस (My Father face) नेपाली बजारमा  पाँउदैन नि ? किन ?

  • मूल नेपाली कविताहरूको अङग्रेजी अनुवाद भारतमा छापिएको हो । अब नेपाली पाठकको लागि नेपाली भाषामै ल्याउने ईच्छा छ । प्रकाशकसित कुरा पनि भइरहेको थियो तर मेरो छोटो बिदा र कोरोनाले निम्त्याएको यस लकडाउनले गर्दा समयमै ल्याउन पाइएन । तर छिटो भन्दा छिटो यो कृति नेपाली बजारमा आउने छ । 

५ ) तपाई विशेष गरेर अन्तर्राष्ट्रिय साहित्यकारहरुसँग  नजिक हुनुहुन्छ । त्यसो हुँदा नेपाली साहित्य र नेपाली साहित्यकारहरुलाई अन्तर्राष्ट्रिय साहित्य  जगतले कसरी हेरेको पाउनु  भएको छ ?

  • हाम्रो भन्दा सानो देश, हाम्रो भन्दा कम बोलिने भाषामा लेखिएको साहित्य विश्वभरि पुगिरहेको छ । हरेक भाषा र देशबाट विश्वस्तरीय साहित्य अङ्ग्रेजी भाषामा आइरहेको छ । तर हामी धेरै पछाडि छौँ लाग्छ । केही नेपाली कविता अनुवादको रुपमा बाहिर पुगिरहेका छन् । आर्थिकरुपमा सम्पन्न कविले अनुवाद गराएर कृति छपाइरहेका छन् । अङ्ग्रेजीमा दखल राख्ने केही कविहरूले आफ्ना कविताहरू विदेशी पत्रिकाहरूमा छपाउँदै पनि छन् । तर अझै यात्रा लामो छ ।
  • विश्व साहित्यको कुरा नगरेर दक्षिण एशियाकै कविताबारे कुरा चल्दा पनि नेपाली कविताबारे धेरै कम कुरा भएको पाउँछु । हाम्रो कविता नोटिसमै परेको छैन । जसकारण हामी यस क्षेत्रमा पक्कै पछि छौँ । सरकारी तहमा अनुवादको लागि कुनै नीतिनियम निर्माण भएको छैन ।  प्रज्ञाप्रतिष्ठानबाट पनि अनुवाद सम्बन्धी कुनै ठोस काम हुन सकेको छैन ।

  ६ ) नेपाली साहित्यमा भनौ अझ कविता विधामा कस्तो कवितार साहित्य लेखिएको छैन रु अब नेपाली साहित्य र कवितामा के लेखिनु पर्छ ? 

  • कविता साहित्यमा कुन–कुन विषयवस्तु आउन सकिन्थ्यो, ती सब नेपाली कवितामा आइसकेका छन् ।  सत्तासीनको स्तुतिमा पनि थुप्रै कविता लेखिएकै हुन् । साथै, संघर्ष, क्रान्ति, युद्ध, विद्रोह, आक्रोश र परिवर्तनका कविताहरू पनि लेखिएकै छन् । हाम्रो समाजमा विद्यमान विकृति, उपेक्षित र पीडित वर्गको पक्षमा पनि अनेक कविताहरू आएका छन् । यसकारण केही नआएको वा नलेखिएको जस्तो चाहिँ लाग्दैन । 
  • बिसं ६२–६३ को जनआन्दोलनपछिको परिवेश र सामाजिक परिस्थिति फेरिएको छ । तर अझै पनि थुप्रैले यसलाई स्विकार्न सकिरहेको छैन । मलाई लाग्छ कि यो नयाँ देशकाल, समाज र परिवर्तनलाई सकारात्मक रुपमा स्थापित गर्ने कविताको सिर्जना आवश्यक छ ।

 ७ ) बर्तमान साहित्यसँग सन्तुष्ट हुनुहुन्छ रु पछिल्लो समय बजारमा बिक्ने साहित्य लेखन हुन्छ भन्छ नि ?

  • वर्तमान परिवेशमा सस्तो र कमसल साहित्यले यति हल्ला गरिरहेको छ कि सक्कली साहित्य हराउन थालेको छ । साहित्यिक वृतमा धाँधली र अनैतिक क्रियाकलाप व्याप्त छ । साहित्यको ठेकेदारहरूले घरघरमा साहित्यिक संगठन खोलेका छन् । पालोको पैँचो गर्दै कार्यक्रम चलाइरहेका छन् । असल र नैतिकवान भन्दा कमसल साहित्यको भद्दा नाटक चलिरहेको छ । असंख्य पत्रपत्रिका, अनलाइन मिडिया छन् । तर पढने लायक साहित्य कमै छन् । जे पनि छापिरहेका छन् । जो पनि छापिएका छन् । साहित्यिक वातावरण कोलाहलमय छ । जुन साहित्यको आवाज चारैतिर पुग्न पर्ने हो, त्यसको आवाज पाठकवर्गसम्म पुगिरहेको छैन । यसरी नेपाली पाठक असल साहित्यबाट वञ्चित बनिरहेको अवस्था छ ।

कविता भीडभाडको चीज नै होइन । कविता बजारमा मालको रुपमा बिक्ने थोक नै होइन । कविताले मञ्चमा उक्लिएर नाटक गर्नु पर्दैन् । लेखकहरू लेखनमा भन्दा मञ्चमा पुगेर नाटक गरिरहेका छन् । खासमा कविताले पाठक खोज्दै भौँतारिनु पर्दैन । कविताको सक्कली प्रेमी यसलाई खोज्दै आउँछ । बजारवादले पाठकवर्गलाई यसरी भेडा बनाइसकेको छ । मानिसलाई मायाप्रेम, सुखदुःख, उदासी, एक्लोपन र अप्ठयारोमा साथ दिने साहित्यलाई मालको रुपमा बजारमा भेटिइनु विडम्बनापूर्ण छ । 

 ८ ) जीवन र  साहित्यको  सम्बन्ध कस्तो पाउनु हुन्छ ?तपाइको बुझाइ के छ ? र कसरी लिनुहुन्छ ?

  • हरेक मान्छेको भित्री संसारमा एउटा कवि बाँचिरहेको हुन्छ । जब हामी त्यो भित्री कविसित सम्वाद गर्छाैँ, अनि काव्यसिर्जना गर्न सक्छौँ ।  कविताकर्मले हरेक जीवनलाई सार्थकता प्रदान गर्छ । यसरी कविताको भाषामा जीवनलाई बुभ्mन र बुझाउन सक्षम बन्छौँ । हाम्रा भावना र विचारहरू कविताको रुपमा प्रस्तुत हुन्छन् । कविताले जीवनयात्राको क्रममा संवेदनशील सम्वाद गरिरहेको हुन्छ । कविताको लागि जीवनको कुनै पनि पक्ष महत्वहीन छैन । जीवनलाई व्यापकता दिनलाई कविता एउटा संवेदनात्मक साधन हो । 

कविता मेरो भित्र रहेको संसार हो । म यस सुन्दर संसारलाई विस्तार गर्न चाहन्छु । यहाँ सबैको दुःखसुख, कथाव्यथाको लागि प्रयाप्त ठाउँ होस् । लेखन मेरो लागि बुद्धिविलास होइन, बरु जीवनको ठूलो यथार्थ हो । कविताको मदतले जीवन र समाजको भित्री तहसम्म पुग्न सक्छौँ । हामीले मानव समाजको चेतनालाई जोगाएर राख्नु आवश्यक छ । कविताकर्म यस दिशामा एउटा कोशिस हो । 

 ९ )  नेपाली साहित्यमा कुन विधा बढी समृद्ध छ जस्तो लाग्छ ? किन त्यस्तो भएको होला ?

  • निःसन्देहरुपमा कविता धेरै समृद्ध छ । सामाजिक तथा राजनीतिक परिवर्तनहरूमा कविताको सक्रिय भूमिकाले पनि यसको महत्व बताउँछ । मानव जीवन र भाषामा कविताको जरा निकै गहिरो पुगेको छ । कवितामा शब्दहरूको थुप्रो मात्रै नभई यसमा भाषाको सहयोगले विचार र भावनालाई कलात्मक रुपमा प्रकट गर्न सकिन्छ । 
  • साहित्यका अन्य विधाको तुलनामा कविता सम्प्रेषणीय छ । कविता व्यापक छ । कविता पाठक र आम जनमानसमा सहजै पुग्छ । कविता सधैँ उपेक्षित वर्गको आकर्षण र सहारा बनेको छ । मानिसहरूले जीवनको मूल्य र मान्यता बिर्सिएर हतारमा बाँचिरहेको समयमा कविताले धैर्यता सिकाउँछ । कविताले जीवनको हरेक पाटोलाई समेटन सक्ने भएर पनि यो बढी समृद्ध छ । 

१०)  कविहरुले अरुको कविता अनुवाद गर्दा कविको सिर्जनामा ह्रास आउँछ भन्छ नि ?

  • अनुवाद आफैमा सिर्जनात्मक कार्य हो । अनुवादले मूल कवितालाई अझै राम्रो बनाउने होइन बरु त्यो कवितालाई जस्तो छ त्यस्तै अर्को भाषामा प्रस्तुत गर्ने हो । अनुवादकको काम त्यही साइज, आकार र भावमा कवितालाई नयाँ भाषामा लाने हो । यहाँ त हाँसोलाग्दो के छ भने अनुवादक आफूले ओरिजिनल भन्दा राम्रो अनुवाद गरिदिएँ भन्दै मख्ख बन्छ ।

एउटा नयाँ कविताको सिर्जनामा खपत हुने समय र बौद्धिकता अनुवादमा पनि लाग्ने गर्छ । कवि अनुवादमा मात्रै लागिपर्ने हो भने पक्कै उसले नयाँ सिर्जना गर्न सक्दैन । तर समयलाई ब्यालेन्स गरेर नयाँ सिर्जना र अनुवादमा लाग्न सके धेरै राम्रो हुन्छ । किनभने अनुवादको कार्यले कविलाई देशविदेशका कविकवितासित परिचय गराउँछ । जसले उसको सिर्जनाको स्तर विस्तारमा मदत गर्छ । यसरी सिर्जनामा ह्रास भन्दा पनि सुधार निश्चित छ ।

११ ) र अन्त्यमा तपाइको दोस्रो कृती माइ फादरस फेस  ( My Father face नेपाली पाठकले पढ्न पाउँछ कि पाउँदैन ?

  • कविताको बजारको मनोविज्ञान बुभ्दैछु । कविताको पनि आफ्नो निर्धारित क्षेत्र र पाठक हुन्छन् । मेरा कविताहरूमा यो देशको राजनैतिक माहौल, समाज, र मानिस अटाएका छन् । मैले कविताहरूमा देशप्रेम, परदेशीको घरपरिवारसितको सम्बन्ध र यहाँका सामाजिक विसङ्गतीहरूबारे लेखेको छु । पक्कै पनि यी कविताहरू यहाँकै पाठकका निम्ति हुन्् । मेरो यो कविताकृति नेपाली पाठकले पढनै पर्ने कृति हो । यी कारणहरूले पनि मैले मेरा कविताहरू नेपाली पाठकको लागि चाँडै भन्दा चाँडै ल्याउनै पर्छ ।

कवि चन्द्र गुरुङको कविता

बूढो माझीको देश

दिलबहादुर माझी
नारायणीमाथि दिनहरू खियाउँछ
पानीकै गाउँतिर रमाउँछ
पानीकै गल्लीे–गल्ली डुल्छ
रङ्गहीन
स्वादहीन
आकारहीन
बिताउँछ पानीजस्तै जीवन ।

सवेरै पत्रिकाहरू आउँछन्
देशको अस्तव्यस्त खबर बोक्दै
झुपडीको छानामा झुन्डिएको
बूढो रेडियो घ्यारघ्यार गरिरहन्छ बेथितीको समाचार
दिलबहादुर माझी
खुम्चिएको निधार उचाल्दै सुस्ताउँछ थकान
छापिरहन्छ आफ्नो मनभरि ती प्रतिबिम्वहरू
जो बोक्दै आँखाभरि घरपरिवार
सजाउँदै हृदयको भित्ताभरि देश
परदेसिएका छन् गहिरो नारायणीलाई तर्दै ।

यहाँ चोकहरू आक्रोश चिच्याउँछन्
सडकहरू बन्द–हडतालमा हिँड्छन्
थुप्रै गएका छन् पीडाको नारायणी तर्दै
यस्तो अप्ठयारो समयमा
दिलबहादुर कोरिरहन्छ अनेकथरी क्यानभास–
ती घरकुरुवा बुढ्यौली आँखाहरू
यौवनपूर्ण रातहरू पर्खिरहेको अधुरो सुहागरात
बाका चुम्बनमा लोभिने अबोध गालाहरू ।

नारायणी किनारमा एक्लो–एक्लो
दिलबहादुर माझी हेरिरहन्छ–
थुप्रै चिन्ताग्रस्त भरिया शहर पस्छन्
थुप्रै अभावग्रस्त जीवन सिमाना नाघेर जान्छन्
ऊ तर्कनाको माछीजालमा छोपिरहन्छ–
परदेशमा बग्ने रगतपसिनाको सस्तो मोलभाउ
विरानो रणमा “आयो गोर्खाली” को विडम्बनापूर्ण नाद, र
मुम्बइया रेडलाइट एरियाको अँध्यारो ।

यो देश दुखिरहन्छ बूढो माझीको छातीमा जस्तै
असङ्ख्य असङ्ख्य मुटुहरूमा
…छप्ल्याङ …छुप्लुङ
…छप्ल्याङ …छुप्लुङ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 कमेन्ट गर्नुहोस्
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
नरदेबी राई
नरदेबी राई
4 months ago

क प्रतिनिधि कबिता

1
0
Would love your thoughts, please comment.x
()
x