धरान । धरान १९ स्थित अज्ञात व्यक्तीले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खानेपानीको मुख्य पाइपलाईनमा जमिन खनेर प्वाल पारेका छन् ।

स्थानीयका अनुसार हिजो (मङ्गलबार) दिउँसो ४ बजेतिर दुई जनाको अज्ञात व्यक्तीले खनेर जंगलबाट पम्पिङ गरेर ल्याएको खानेपानीको मुख्य पाइपलाईनमा प्वाल पारेको हो । उक्त पाईपलाइनमा प्वाल पारेपछि वीपी प्रतिष्ठानमा खानेपानीको अभाव भएको थियो । धरान उपमहानगरका नगर प्रमुख तिलक राईको नेतृत्वमा केही समय अघिदेखि खानेपानी सहज बनाउने तीब्र रुपमा प्रयत्न भइरहेको छ । तर, जानाजान नगर प्रमुख राईलाई असफल बनाउने प्रयास भइरहेको बोर्डको दाबी छ । मंगलबार दिउँसो खानेपानी अफिसबाट आएको भन्दै अज्ञात दुई व्यक्तिले जमिन खनेर प्रतिष्ठानमा वितरण हुने पाईपलाईनमा प्वाल पारेको स्थानियले बताएका छन् । ति दुई जना युवाहरु को हो ? भनेर छुट्याउन नसकिएको स्थानीयको भनाई छ । प्रतिष्ठानका खानेपानीको कर्मचारी जीवन मगरका अनुसार वीपीमा गएराति १ बजेदेखि पानी अवरुद्ध भएको थियो ।

स्थानिय गिता लिम्बुले जानकारी दिए अनुसार ति दुई अज्ञात व्यक्तिले पाईप प्वाल पार्न मेशिनको प्रयोग गरेका थिए । जमिन खनेर पाईपमा प्वाल पारेलगत्तै पानी निस्कन थालेको र रोक्न नसकेपछि भागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भर्खरको केटाहरु थिए, के गरेको भाई भन्यौं, माथि अफिसबाट आएको भन्यो । पानी फोर्समा आएपछि थुन्न सकेन, उनीहरु भागी हाल्यो ।’

खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोख्रेलले जमिन खनेर खानेपानीको पाईपलाईनमा प्वाल पारिएपछि प्रतिष्ठानमा खानेपानी अवरुद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामिलाई राति नै जानकारी भएको र राति अनुगमन गर्न आएका थियौं, राति काम गर्न समस्या भएपछि अहिले काम गरिरहेका छौं ।’ खानेपानी निरन्तर बगेपछि सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बुले राति जानकारी गराएको उहाँले बताउनुभयो । आज विहान मर्मत गरिएपछि पानी सुचारु भइसकेको उहाँले बताउनुभयो ।

उक्त प्वाल पारेको स्थानमा नगर प्रमुख तिलक राई अनुगमनमा पुग्नु भएको थियो । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका नगर प्रमुख राईले खानेपानी आपूर्तिको विषयमा नगरबासीले दिएको सल्लाह सुझाव मान्ने बताउँदै नगरबासीकै काम गर्न आएको बताउनुभयो । नगर प्रमुख राईका अनुसार केही मानिस र साविकका खानेपानी संस्थानका कर्मचारीहरुबाट जानाजान असहयोग भइरहेकोछ ।
नगर प्रमुख राईले भन्नुभयो, ‘जुन खालको गतिविधि भइरहेको छ, या त इन्टेन्सनली रुपमा व्यवस्थापनलाई असहयोग हो, या त यो आफूखुशी गर्न खोजिएको हो, यस्तो कुराहरु रोक्नुपर्छ ।’ इलाका प्रहरी कार्यालयलाई पनि यस विषयमा जानकारी गराएको उहाँले बताउनुभयो । ‘अनाधिकृत रुपमा जसले जोर जबरजस्ती गर्छ, त्यसलाई कानुनी कारबाही हुनुपर्छ,’ नगर प्रमुख राईले भन्नुभयो । उहाँले सिंगो नगरबासीलाई आग्रह गर्दै खानेपानी आपूर्तिको लागि सक्ने उपाय गरिरहेको बताउनुभयो । ‘आयोजना हामिले जिम्मा लिएका हैनौ, आयोजना त कन्सल्टेन्ट र ठेकेदारलाई जिम्मा लगाएका छौं, अब नौं महिना उनीहरुले अप्रेशन गरेर ठिक भएपछि हामिलाई जिम्मा लगाउँछ,’ उहाँले भन्नुभयो, ‘अहिले पनि कहाँ कहाँ पानी पुग्दैन, कहाँ कहाँ धारा पुग्दैन हामि दिन तयार छौं ।’ उहाँले यसरी जानाजान पाइपमा प्वाल पार्नेलाई कानुनको कठघरामा उभ्याउनुपर्ने बताउनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap